आजबाट भेरी अस्पतालको इमरजेन्सी सेवा निःशुल्क


आजबाट भेरी अस्पतालको इमरजेन्सी सेवा निःशुल्क

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जले आजबाट आम सेवाग्राहीका लागि इमरजेन्सी सेवा निःशुल्क गरेकोछ ।

अस्पताल विकास समितिको असोज २४ गते शुक्रबार बसेको बैठकले अस्पतालको इमरजेन्सी सेवामा लिइदै आएको शुल्क कार्तिक १ गतेबाट नलिने निर्णय गर्दै इमरजेन्सी सेवा निःशुल्क गर्ने निर्णय गरेको समितिका अध्यक्ष प्रमोदकुमार धितालले जानकारी दिए ।

उनका अनुसार इमरजेन्सी अवस्थामा आएका विरामीलाई अस्पताल भित्र पाइने सम्पूर्ण सेवा निःशुल्क दिइनेछ । कुनै ब्यक्ति विरामी भई वा दुर्घटनामा परि अस्पताल आएमा उसको अप्रेसन समेत निःशुल्क गर्ने निर्णय भएको अध्यक्ष धितालले बताए ।

रकम अभावमा कोहि पनि उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले इमरजेन्सी सेवा निःशुल्क गरिएको उनको भनाई छ । ‘अब उपचारबाट कोही बञ्चित हुनुपर्ने छैन । इमरजेन्सी अवस्थामा अस्पताल आएका विरामीको अप्रेसनदेखि औषधि, भिडियो एक्स–रे, सिटि स्क्यानसम्म निःशुल्क हुने छ,’ उनले भने । अहिले इमरजेन्सीका लागि पर्चाको २५ रुपैँया शुल्क लिने गरिएको छ । भने, विभिन्न जाँच बापतको शुल्क विरामीले तिर्नुपर्छ । इमरजेन्सी सेवा निःशुल्क भएपछि दुर्घटनामा परेका र अकस्मात विरामी परेका ब्यक्तिले छिटो उपचार पाउने र रकम खोज्ने टन्टा हट्ने भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबीच नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक र कर्तव्य अन्तर्गत स्वास्थ्य सेवाबाट कसैलाई बन्चित गरिने छैन भन्ने संवैधानिक अधिकार अनुरुप अस्पतालले आजबाट गरिब तथा बिपन्न वर्गका व्यक्तिहरुको प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य उपचार निःशुल्क गर्न लागेको भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापाले बताए ।

उनका अनुसार ‘गरिव तथा बिपन्न नागरिकहरुका साथै आकस्मिक उपचारमा सेवा लिन आउँदाका बखत उपचार खर्च नभएका सेवाग्राहीहरु तथा बेवारिसे नागरिकहरुलाई प्रारम्भिक चरणको आकस्मिक (इमर्जेन्सी कक्षमा रहँदा सम्मको) स्वास्थ्य सेवा आजदेखि निःशुल्क गरिनेछ ।

सरकारले २०७७/७८ को नीति तथा कार्यक्रममार्फत भेरी अस्पतालसहित देशभरका १५ वटा अस्पतालबाट गरिब तथा बिपन्न वर्गका नागरिकहरुलाई यस्तो सेवा उपलब्ध गराउने घोषणा गरेको थियो ।