देशभर सक्रिय संक्रमित ४० हजार नाघ्यो

२४ घण्टामा ३७९० कोरोना संक्रमित थपिए


देशभर सक्रिय संक्रमित ४० हजार नाघ्यो

नेपालगन्ज : पछिल्लो २४ घण्टामा देशभर ठूलो संख्यामा कोरोना भाइरस संक्रमित ब्यक्ति फेला परेकाछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका थप तीन हजार ७९० संक्रमित फेला परेका छन्।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७९० संक्रमित थपिएका हुन् । योसगैं देशमा कोरोना संक्रमित कूल संख्या एक लाख ३६ हजार ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो । सोमबार बेलुकासम्म देशभर १३ लाख ९१८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यस्तै मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेकोछ । सोमबार थप ३७९० ब्यक्तिमा कोरोना देखिएसगैं नेपालमा सक्रिय कोरोना संक्रमित कुल संख्या ४० हजार ७७८ पुगेकोछ । भने पछिल्लो २४ घण्टामा थप दुई हजार ३३५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसगैं हालसम्म ९४ हजार ५०१ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएकोछ । देशभर हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ५ प्रतिशत रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले सोमबार नियमित प्रेस व्रिफिङ्गमा बोल्दै देशभरका संस्थागत आइसोलेसन १३ हजार ८५१ जना र होम आइसोलेसनमा २६ हजार ९२७ जना रहेको जानकारी दिए । उनका अनुसार सोमबार बेलुकासम्म देशभर चार हजार ४७० जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै देशभर ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । भने २८२ जना संक्रमितलाई आईसीयूमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएकोछ ।

यसअघि शनिबार देशभर तीन हजार १६७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने एक हजार ८०० जना डिस्चार्ज भएका थिए । त्यस्तै शनिबार देशभर कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।

यसैगरी आईतबार देशभर दुई हजार ९४२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३२६ जना डिस्चार्ज भएका थिए । भने आईतबार देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर थप १८ जनाको मृत्यु भएको छ । योसगैं नेपालमा कोरोना संक्रमित ७ सय ५७ जनाको मृत्यु भएकोछ ।

यसअघि आईतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो । भने गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । यस्तै शनिबार मात्रै कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको थियो ।