नेपालगन्ज : बाँकेमा लागुऔषधको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकामा चिन्ता व्यक्त गर्न थालिएको छ । लागुऔषधका सेवनकर्ता र कारोवारीलाई बेलाबखत प्रहरीले पक्राउ गरे पनि जिल्लामा यसको नतिजा सन्तोषजनक भएको पाइँदैन ।
अहिले यो जिल्लालाई लागुऔषधमुक्त र दुब्र्यसनीलाई पुनःस्थापना गर्नकालागि प्रहरी प्रशासनले सतर्कता बढाएको छ । सीमा नाकामा चेकजाँचमा कडाइ गर्नुका साथै दुब्र्यसनीकालागि विभिन्न संघ संस्थाले पुनःस्थापनाको कार्यक्रम पनि सञ्चालन गरेको पाइन्छ । यति हुँदा पनि लागुऔषध कारोवार र सेवनकर्ताको संख्यामा कमी नआएको सरोकारवाला निकायका पदाधिकारी बताउँछन् ।
चालू आर्थिक वर्षको अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बाँकेले ३०० बढी लागुऔषध सेवनकर्तालाई पक्राउ गरेको छ । बाँके जिल्लामा खुला सीमाना भएका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण भए पनि केही महत्वपूर्ण सफलता हासिल भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेल बताउँछन ।
नेपालगन्जस्थित सहारा हाउसले चालू आवको अहिलेसम्म करीब १ सय ५० लागुऔषध दुव्र्यसनीको पुनःस्थापना गरेको छ । हाउसका कार्यकारी प्रमुख अभिराज क्षेत्रीका अनुसार, सानैदेखि बालबालिकालाई पारिवारिक वातावरण दिन सकियो भने धेरै हदसम्म युवालाई लागुऔषधको कुचक्रबाट टाढा राख्न सकिन्छ ।