नेपालगन्ज : बाँकेमा कोरोना भाइरस संक्रमित एक जनप्रतिनिधीको पहिलोपटक निधन भएकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २ घरबारीटोल निवासी ६७ वर्षिया शान्तिदेवि परियारको मृत्यु भएको हो । कोरोना भाइरस संक्रमित भएपछि भेरी अस्पताल नेपालगन्जमा उपचाररत उनको सोमबार विहान साढे १० बजे निधन भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।
योसगैं बाँकेमा कोरोना भाइरस संक्रमित ३४ जना ब्यक्तिको मृत्यु भइसकेकोछ । जसमा सबैभन्दा बढि नेपालगन्ज उपमहानगरपालिकाका कोरोना संक्रमितको मृत्यु भएको केन्द्रले जनाएकोछ ।
गत कार्तिक ३ गते कोरोना आशंकामा भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा स्वाब परीक्षण गर्दा वडा सदस्य परियारलाई कोरोना पोजेटिभ पाइएको थियो । कोरोना पोजेटिभ पाइएपछि कार्तिक ४ गते बेलुका भेरी अस्पताल नेपालगन्जको कोभिड–१९ प्रि–आइसोलेसन वार्डमा राखी उपचार गरिएको थियो ।
रोगको प्रकृति अनुसार सम्पूर्ण पद्धति अपनाएर उपचार गर्दा पनि परियारको स्वास्थ्यमा सुधार नभएपछि उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार परियारलाई श्वासप्रश्वासमा समस्या हुनुको साथै दुवै फोक्सोको निमोनिया भइ मृत्यु भएको थियो ।
कोरोना संक्रमित परियारको निधनप्रति नेपालगन्ज उपमहानगरपालिकाले दुःख ब्यक्त गरेकोछ । यसअघि नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीको समेत कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
परियार नेपाली काँग्रेस बाँकेकी नेतृ हुन् । उनी नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर २ को निर्वाचित वडा सदस्य हुन् ।
यसबीच, बाँकेमा आईतबार राती सवा ११ बजे दाङका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा निधन भएकोछ । भेरी अस्पताल नेपालगन्जको आइसोलेसनमा उपचाररत तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ९ दाङका ४८ वर्षिय पुरुषको निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि गत कार्तिक १० गते भेरी अस्पताल नेपालगन्जको प्रि–आइसोलेसनमा उपचाररत ती ब्यक्तिको स्वाब परीक्षण गर्दा कार्तिक ११ गते आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएको थियो ।
कोरोना पोजेटिभ पाइएपछि उपचारमा संलग्न चिकित्सकले रोगको प्रकृति अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दा समेत उनको स्वास्थ्यमा सुधार नभएपछि आईतबार राती ११ः१३ बजे निधन भएको हो । योसगैं बाँके जिल्लामा आएर उपचारका क्रममा बाँके बाहिरका २१ जना कोरोना संक्रमित ब्यक्तिको निधन भएकोछ ।