नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले कोरोना जितेका छन् ।
जिल्लामा कोरोना भाइरस संक्रमण न्यूनिकरण तथा रोकथाम कार्यमा अग्रपंक्तिमा रही कार्य गरिरहदाँ गत कार्तिक ११ गते प्रजिअ कुरुम्वाङ्ग संक्रमित भएका थिए ।
कोरोना भाइरस संक्रमित भएपश्चात जिल्ला प्रशासन कार्यालयकै क्वाटरमा होम आइसोलेसनमा रहेका प्रजिअ कुरुम्वाङ्गले शुक्रबार कोरोना जितेको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
जिल्लामा कोरोना भाइरस संक्रमणको कहरकैबीच बाँके सरुवा भएर आएका कुरुम्वाङ्ग जिल्लाको कोरोना भाइरस संक्रमण रोकथाम, न्यूनिकरण, आइसोलेसन तथा क्वारेन्टिन ब्यवस्थापनमा आफै फिल्डमा खटेर काम गरेका थिए ।
कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले खेलेको भूमिकाले सर्वत्र चर्चा कमाएको थियो ।
यसैबीच, शुक्रबार प्रजिअ कुरुम्वाङ्गसगैं बाँकेका थप ८ जनाले कोरोना जितेका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि र्कात्तिक ११ गते जिल्लाका विभिन्न अस्पताल तथा आईसोलेशन सेन्टर बस्दै आएका ८ जना पुरुष संक्रमणमुक्त भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रले जनाएकोछ । योसगैं बाँकेका २९८७ जना संक्रमितले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।