६ महिनामा २८५ सम्बन्धविच्छेदका मुद्दा


६ महिनामा २८५ सम्बन्धविच्छेदका मुद्दा

नेपालगन्ज : बाँके जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्नेको संख्या अघिल्लो वर्षको तुलनामा दोब्बरले वृद्धि भएको छ ।
चालू आर्थिक वर्षको माघ मसान्तसम्म बाँके जिल्ला अदालतमा सम्बन्धविच्छेदका दुई सय ८५ मुद्दा दर्ता भएका छन् ।

अदालतमा दायर भएका मुद्दामध्ये एक सय ९१ महिलाले मुद्दा दायर गरेको तहसिलदार हेमराज तिमिल्सिना बताउँछन् । उनकाअनुसार ६ महिनाको अवधिमा ९४ जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेका छन् । हरेक महिना कम्तीमा १५ जना पुरुषले सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गरेको तथ्यांकले देखाएको उनी बताउँछन् ।

मुलुकी देवानी (संहिता) ऐन, २०७४’ लागू भएपछि बाँकेमा सम्बन्धविच्छेदका मुद्दा दर्तामा वृद्धि भएको अदालतले बताएको छ । गएको आर्थिक वर्षमा महिलाले मात्र सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेका थिएरु। यस वर्ष पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेकाले संख्या बढेको तहसिलदार तिमिल्सिना बताउँछन् ।

गएको भदौमा लागू भएको देवानी संहिता ऐनले सम्बन्धविच्छेदका लागि पुरुषले पनि अदालतमा मुद्दा दायर गर्न पाउने व्यवस्था गरेपछि यसरी पुरूषले पनि मुद्दा दर्ता अघि बढाएका छन् । आर्थिक वर्ष ०७४÷७५ मा बाँके जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि एक सय ६१ जना महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेको तहसिलदार तिमिल्सिना बताउँछन् । उनका अनुसार अदालतमा दायर भएकामध्ये ८१ मुद्दा फैसला भएका छन् । कतिपय मुद्दा दायर भएर पनि तारिख लिन नआएका कारण बिचमै रद्द भएको उनी बताउँछन् । कतिपय मुद्दा विचाराधिन अवस्थामा रहेका छन् ।