जनता आवस कार्यक्रम अलपत्र


जनता आवस कार्यक्रम अलपत्र

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरका ३० घरपरिवार कुचवधिया परिवार अहिले जनता आवास कार्यक्रम अन्तर्गत पनि अनुदान पाउनबाट बञ्चित छन् । इन्द्रपुर गाउँमा बस्दै आएका ४६ घरपरिवार कुचबधियामध्ये अहिलेसम्म १६ घरपरिवारले मात्रै सरकारी राहत अनुदान पाएका छन् ।

ऐलानी जमिनमा बस्दै आएका कुचबधियामध्ये १६ परिवारले मात्र जनता आवास कार्यक्रमबाट घर निर्माणका लागि रकम पाएका छनरु। ३० घरपरिवार भने पूर्ण रूपमा बञ्चित भइरहेको फुला कुचबधिया बताउँछन् । अनुदान रकम नपाउँदा यी परिवारले घर निर्माण गर्न सकेका छैनन् । अनुदान नपाएका परिवारलाई पनि घर बनाउने रकम दिनुपर्ने स्थानीय सिवर्ती कुचबधिया बताउँछिन् ।

अनुदान पाएका परिवारले बनाएका जनता आवास कार्यक्रम अन्तर्गतका घरपनि रकम अभावले अधुरा छन् । कार्यक्रमले दिएको
रकम अपुग भएपछि अधिकांश घरहरू पूरै निर्माण हुन सकेका छैनन् । उनीहरू अपूर्ण घरमा जोखिम मोलेर बस्दै आएका छन । सरकारले दिएको रकमले दिवाल ठडिएपनि छानो हाल्ने जस्तापातालाई नपुगेको उनीहरू बताउँछन् ।

कतिपय नागरिकले घर बनाएपनि आर्थिक अभावकै कारण झ्याल, ढोका लगाउन सकेका छैनन् । कतिपयको घरमा जमिन फर्स र पर्खाल प्लास्टर गर्न बाँकी छ । कतिपयले घर बनाउन झण्डै ५० हजार व्यक्तिगत रुपैयाँ खर्च समेत गरिसकेको बताएका छन् । घर बनाउने रकम अपुग भएपछि यहाँका नागरिक शौचालय निर्माणको पहुँचमा पुग्न सकेका छैनन् । जनता आवास कार्यक्रममा आवास भवनसँगै शौचालय अनिवार्य भए पनि रकम अभावले बनाउन नसकेको उनीहरू बताउँछन् ।

विपन्न, गरिब, अल्पसंख्यक र दलित समुदायको घर निर्माणका लागि जनता आवास कार्यक्रमले दुई लाख १५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । उक्त रकमले सम्बन्धित परिवारले दुई कोठा, एक भान्सा र बरण्डा भएको आवास भवन र शौचालय अनिवार्य रूपमा बनाउनुपर्ने व्यवस्था छ ।