बैजापुर (बाँके) : जिल्लामा पहिलोपटक राप्तीसोनारी गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएकोछ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरमा रहेको स्वास्थ्य चौकीलाई ‘राप्तीसोनारी अस्पताल’का रुपमा स्तरोन्नती गरिएसगैं गाउँपालिकामा पहिलोपटक अस्पताल सञ्चालनमा आएको हो ।
प्रत्येक पालिकामा १५ शैयाको अस्पताल बनाउने संघीय सरकारको नीतिअनुसार, गाउँपालिकाले स्वास्थ्य चौकीलाई अस्पतालकारुपमा स्तरोन्नती गरि आईतबारबाट सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष थारुले आईतबार एक कार्यक्रमकाबीच अस्पतालको औपचारिक उद्घाटन गरेका हुन् । अस्पतालका रुपमा स्तरोन्नती भएसँगै अब सो अस्पतालबाट नर्मल सर्जरीदेखि प्रस’ती सेवा समेत प्रदान गरिने अस्पतालका प्रमुख डाक्टर गोविन्द प्रसाद थारुले बताए । यसअघि १२ कोठे भवनसहितको भौतिक संरचनामा स्वास्थ्य चौकीले सेवा प्रदान गर्दै आएको थियो ।
स्वास्थ्य चौकी हुँदा यो जिल्लाकै उत्कृष्ट मानिएको उक्त चौकी अस्पताल भएसगैं गाउँपालिकाका सिक्टा क्षेत्र, बैजापुर र विनौना क्षेत्रबासी लाभावन्तित हुने भएकाछन् । अस्पतालका रुपमा स्तरोन्नती भएपछि सेवालाई थप गुणस्तरीय र प्रभावकारी गराउन पालिका अध्यक्ष थारुले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिदै निकट भविष्यमा भौतिक संरचना तथा उपकरण थप्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनले भने–‘सामान्य विरामी हुँदा पनि नेपालगन्ज र कोहलपुर धाउनु पर्ने यस क्षेत्रको नियती नै बनेको थियो जुन आजका मितीबाट हटेर गएकोछ ।
तत्कालिन अवस्थामा पनि करिव २० हजारलाई वार्षिकरुपमा सेवा दिदै आएको उक्त स्वास्थ्य चौकी अस्पताल भएसगैं सो क्षेत्रका ७० हजार जनसंख्या प्रत्येक्ष लाभावन्तित हुने अस्पतालका प्रमुख डाक्टर थारु बताउँछन् ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्बर ४ का वडा अध्यक्ष कान्छा थारुको सभापतित्वमा भएको औपचारिक उद्घाटन कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख जीवन न्यौपानेले स्वागत गरेका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनिकुमारी खत्री विभिन्न राजनीतिक दलका नेता लगायतले अस्पताल सञ्चालनमा आउँदा स्वास्थ्य सेवा घरगाउँमै पाइने भन्दै यसको थप प्रभावकारिताका लागि गाउँपालिकाले लगानीको वतावरण निर्माण गर्न सुझाएका थिए ।