बैजापुर (बाँके): रोटरी क्लव अफ सेन्ट्रल बाँकेले राप्तीसोनारी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोछ । गाउँपालिकाको सहकार्यमा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष डाक्टर कुमारसान शाहका अनुसार भेरी अस्पताल नेपालगन्जका चिकित्सकहरुको टोलीले आईतबारबाट सञ्चालनमा आएको राप्तीसोनारी गाउँपालिकाको राप्तीसोनारी अस्पतालमा निशुल्क स्वास्थय शिविर गरेको हो ।
भेरी अस्पतालका बरिष्ठ फिजिसियनद्वय डाक्टर रुपानन्द अधिकारी र संकेत रिसाल, बालरोग विशेषज्ञ डाक्टर कुलदीप गोईत, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश चौधरी, स्त्रीरोग विशेषज्ञ डाक्टर कुमारसान शाह, छालारोग विशेषज्ञ डाक्टर आर.के झा, नेत्र सहायक विमल कार्की तथा डेन्टल हाइजिन प्रेम डुम्रेलगायतको चिकित्सक टोलीले निःशुल्क स्वास्थ्य उपचार गरिरहेकोछ ।
अध्यक्ष शाहका अनुसार स्वास्थ्य शिविर बेलुकासम्म सञ्चालन हुने र उनीहरुलाई निःशुल्क औषधी उपलब्ध गराईनेछ । शिविरमा भेटिएका जटिल समस्याका विरामीलाई रोगअनुसार रिफर गरिने अध्यक्ष डाक्टर शाहले जानकारी दिए ।