१८ करोड ६ लाखमा खजुरामा अस्पताल निर्माण हुने
खजुरा : बाँकेको खजुरा गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । खजुरा गाउँपालिका वडा नम्बर–३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्ति गर्दै १५ शैयाको अस्पताल निर्माण गर्न लागिएको हो ।
संघीय सरकारको बजेटमार्फत निर्माण हुने खजुरा अस्पतालको बाँके क्षेत्र नम्बर–३ का सांसद नन्दलाल रोकायले आज सोमवार एक समारोहकाबीच शिलान्यास गरेका छन् ।
१८ करोड ६ लाख रुपैयाँको लागतमा निर्माण हुने अस्पतालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद रोकायले अस्पताल निर्माणमा बजेट लगायतका कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता जनाए ।
सरकारले सर्बसुलभ स्वास्थ्य उपचारका लागि देशका ३९६ स्थानमा आज एकै पटक शिलान्यास गर्दा बाँकेको खजुरामा पनि १५ शैयाको अस्पतालको शिलान्यास हुनु आफैमा महत्वपूर्ण रहेको बताउँदै सांसद रोकायले लोकतान्त्रिक सरकार जनतालाई सेवा दिन तत्पर रहेको उल्लेख गरे ।
उनले संघीय लोकतान्त्रिक व्यवस्थामा सरकार र जनप्रतिनिधि जनताका ईच्छा र चाहना अनुसारका कार्यक्रम लिएर अगाडि बढ्ने गरेको बताउँदै उक्त व्यवस्थाको रक्षा गर्न सबैमा अपील गरे ।
कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरामा निर्माण हुने अस्पताल स्वास्थ्य हब बनाउने लक्ष्यमा कोशेढुंगा सावित भएको बताए ।
उनले नेपाल सरकारले स्वास्थ्यमा आमूल परिवर्तन गर्न एकै पटक ३९६ वटा अस्पताल निर्माण गर्ने कुरा स्वास्थ्य क्षेत्रमा क्रान्ति भएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले जनतालाई सर्वसुलभरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले पालिकास्तरमै अस्पताल निर्माण शुरु भएको बताइन ।
यसैबीच सरकारले आज एकसाथ देशभरका तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गरेकोछ ।
आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले देशभरका ३९६ स्थानीय तहमा १५ शैयासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गरेकाछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् । अस्पतालहरु दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । अस्पताल निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा गरिसकिएको छ ।
पाँच शैयाको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शैयाको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी र १५ शैयाको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।
सरकारको नीति तथा कार्यक्रममा सबै स्थानीय तहहरुमा ५ देखि १५ शैयाका अस्पताल बनाउने उल्लेख छ । तर, सबै स्थानीय तहहरुमा १५ शैयाका अस्पताल बनाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । हाल कूल ७५३ स्थानीय तहहरुमध्ये १ सय ४ वटामात्र मात्रै बिभिन्न तहका अस्पताल छन् ।