नरैनापुर(बाँके) : नरैनापुर गाउँपालिकामा पाँच शैयाको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा आएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज (सोमबार) एक कार्यक्रमका बीच कोभिड–१९ अस्थायी अस्पतालको उद्दघाटन गरे । वडा नम्बर– २ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सुविधासहित पाँच शैयाको अस्पताल सञ्चालनमा आएको हो ।
संघीय सरकारले भदौ २३ गते हरेक स्थानीय तहलाई कम्तिमा पाँच शैयाको अस्पताल सञ्चालन गर्न गरेको परिपत्र अनुसार कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल सञ्चालनका लागि पहिलो चरणमा संघले १० लाख रुपैयाँ पठाएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य नमुनाले पाँच शैयाको अस्पताल सञ्चालनमा आएसंगै संक्रमितलाई उपचारार्थ नेपालगन्ज लैजानुपर्ने अवस्थाको अन्त्य भएको बताइन् । प्रारम्भिक चरणमा कोभिडको सर्वाधिक मारमा परेको नरैनापुरमा पछिल्लो समय एकाध बाहेक संक्रमित नभेटिनु सुखद् भएपनि तयारी अवस्थामा रहन जरुरी रहेको उनले बताईन ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष शाहले स्वास्थ्य सेवामा पछाडि परेको नरैनापुरलाई अघि बढाउन आफू लागिपरेको बताउँदै तन, मन र बचनले ईमान्दारपूर्वक जनताको सेवामा खट्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।
प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले कोभिड–१९ अस्पताल सञ्चालन भएपछि अब उपचार सहज हुने बताए । उनले हालसम्म नरैनापुरमा १ सय २५ जना संक्रमित भएकोमा १ जनाको मृत्यु भएको, १ सय २३ जना निको भएर डिष्चार्ज भइसकेको र एक जना उपचारका क्रममा रहेको बताए ।
गाउँपािलकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार शाहले स्वागत मन्तब्य राखेका थिए । भने अस्पताल उद्घाटन कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य, विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीकान्त मिश्रले आफ्ना विचार राखेका थिए ।
जिन्सी शाखा प्रमुख भरत महतोले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा वडा नम्बर– २ का अध्यक्ष मसुद अहमद शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।