कोरोनाको एन्टिजेन परीक्षण शुरु, पहिलो चरणमा तीन हजारको परीक्षण गरिदैं


कोरोनाको एन्टिजेन परीक्षण शुरु, पहिलो चरणमा तीन हजारको परीक्षण गरिदैं

नेपालगन्ज : कोभिड–१९ संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण शुरु भएको हो ।
सोमबारदेखि शुरु गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा उपत्यकाका ३ हजार व्यक्तिमा एन्टिजिन परीक्षण गरिने छ ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यका भित्रका बढी संक्रमण देखिएको ६ वटा वडामा ३ हजार नमुना लिएर परीक्षण गर्न थालिएको हो ।

मन्त्रालयबाट स्वीकृत भएअनुसार ५ सयभन्दा बढी संक्रमित भएका क्षेत्रमा एन्टिजिनमार्फत परीक्षण गरिनेछ । जसअनुसार सक्रिय संक्रमितको नजिकमा रहेकाको मात्रै परीक्षण गरिनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

यो विधिअन्तर्गत पीसिआर परीक्षणका लागि नमुना लिए जस्तै गरी नाक वा घाँटीबाट स्वाब संकलन गरिने छ र किटमा राखेर आधा घण्टामै रिपोर्ट प्राप्त गर्न सकिने छ ।

एन्टिजिन परीक्षणले शरीरमा भाइरसको जिनको अवस्थालाई पत्ता लगाई नतिजा दिन्छ । त्यसैले यसलाई पीसिआर बराबर विश्वसनीय भएको मानिएको छ ।

नेपालमा अहिलेसम्म कोभिड संक्रमणको पहिचान गर्न पीसिआर विधि मात्र भएको अवस्थामा कम लागत र कम समयमा एन्टिजिन परीक्षण गर्न लागिएको हो । एन्टिजिन परीक्षण गरिसकेपछि पीसिआर परीक्षण गर्न नपर्ने पनि महाशाखाले जनाएकोछ ।

एन्टिजिन परीक्षण खासगरी समूहमा बसेर काम गर्ने क्षेत्रमा प्रयोग गरिने छ । मास स्क्रिनिङ, अस्पतालमा उपचाररत विरामीहरुको तत्काल रिपोर्ट आवश्यक पर्ने अवस्थामा, सफाइकर्मी, तरकारी बजार, कारागार, विभिन्न आवस गृह, सुरक्षाकर्मीमा एन्टिजिनको प्रयोग गरी परीक्षण गरिनेछ ।