नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा आईसियू र भेन्टिलेटरसहितका उपकरण थप गरिएको छ । कोरोनावाहेक अन्य विरामीहरुको उपचारलाई दुष्टिगत गर्दै नेपालगञ्ज मेडिकल कलेज नेपालगन्ज र कोहलपुरमा आईसियू, भेन्टिलेटरसहितको उपकरण थप गरिएको अस्पताल निर्देशक डाक्टर एम. किदवाईले जानकारी दिए ।
यसअघि २६ बेड आईसियू र ७ बेड भेन्टिलेटर रहेको नेपालगन्ज शिक्षण अस्पतालमा २० वटा आईसियू बेड थपेर ४६ बेड पुर्याईको छ भने थप ७ वटा भेन्टिलेटर थपेर १४ पुर्याईएको छ ।
त्यसैगरी कोहलपुर मेडिकल कलेजमा ३२ वटा आईसियू बेड थप गरेर ५२ पुर्याएको छ । ४ वटा भेन्टिलेटर थप गरेर भेन्टिलेटरको संख्या १० पुर्याईएको छ । नेपालगन्ज र कोहलपुरमा एकएक वटा पोटेबल अल्ट्रासाउण्ड मेशिन पनि थप गरिएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले जानकारी दिए ।
आईसियू बेड संख्या र भेन्टिलेटर थपिएसंगै सिरियस बिरामीहरुलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्न सहज हुने उनको विश्वास छ । थप गरिएको आईसियू वार्डको मंगलवार नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणा र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले संयुक्तरुपमा उद्घाटन गरे ।
पश्चिम नेपालको रेफरल सेन्टरको रुपमा रहेको यो अस्पतालहरुले पछिल्ला दिनहरुमा कोरोना संक्रमित बिरामीहरुलाई शल्यक्रिया सहितको उपचार सेवा दिदै आएको छ । अस्पतालले कोरोना संक्रमितहरुको उपचार सेवालाई थप प्रभाबकारी बनाउन सहज होस् भनेर शिक्षण अस्पतालमा पीसीआर ल्याब सञ्चालनमा ल्याएको जनाएको छ ।
संक्रमित बिरामीहरुको उपचार गर्ने क्रममा शिक्षण अस्पतालमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी र अन्य कर्मचारी सहित हालसम्म १ सय ७३ संक्रमित भइसकेका छन । कोरोना संक्रमणकै कारण कलेजका २ जना कर्मचारीको मृत्यु भईसकेको छ ।
कोरोना कहरको जटिल र संबेदनशिल अबस्थामा पनि अस्पतालले कोरोना संक्रमितहरुको उपचार लगायत प्रसुती सेवा, इमरजेन्सी, डाइलासियलगायत बिभिन्न रोगको उपचार तथा शल्यक्रिया सुबिधाहरु उपलब्ध गराउदै आएको सहायक निर्देशक डाक्टर नितेशकुमार कनोडियाले बताए ।