नेपालगन्ज : लक्ष्मणपुर बाध र कलकलवा तटबन्धका कारण बाँकेको राप्तीपारी क्षेत्रका विभिन्न गाउँ अहिलेपनि डुबानको जोखिममा छन् । राप्ती नदी किसानरमा रहेका तत्कालिन सातवटा गाविस डुबानको जोखिममा रहेको स्थानीय बताउँछन् ।
राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा रहेका होलिया, वेतहनी, गंगापुर, फत्तेपुर, मटहिया, वनकटी र हिरमिनिया गाउँ अहिले पनि डुवानको उत्तकै जोखिममा रहेको बााध बाढीपीडित संघर्ष समितिका अध्यक्ष जगदिश बहादुर सिंह बताउँछन् । बषौंदेखि डुबान र नदीको कटान समस्याबाट ग्रसित यस क्षेत्रका नागरिकलाई अहिले पनि पुरानै त्रास र समस्याले सताउँन थालेको उनले बताए । यहाँका स्थानीयको समस्या समाधान र बाँध तथा तटबन्धनका बिषयमा सरकारी निकाय, राजनीतिक दल र नागरिक समाज उदासीन रहेका छन् ।
राप्ती नदीमा यसअघि आएको बाढीका कारण यस क्षेत्रको ६ सय विद्या जमिन उत्पादन अयोग्य भएको छ । बाढीकै कारण ७५ हजार एक सय ७७ जना नागरिक डुबानको जोखिममा रहदै आएका छन् । भारतले मापदण्ड विपरित बनाएको बाँधका कारण डुबान हुँदा यहाँका पाँच हजार आठ सय एक घरधुरी प्रभावीत भएको सिंहले बताए । तर, अहिलेपनि यस क्षेत्रको समस्या समाधानका लागि दीर्घकालिन प्रोजेक्ट लागू हुन सकेको छैन् ।
यस क्षेत्रको समस्या समाधानका लागि योजना तर्जुमा र समस्या पहिचानका लागि फियान नेपालले बुधबार नेपालगन्जमा गरेको एक दिने कार्यशालामा सहभागी बाढीपीडितहरूले आगामी बर्षातअघि नै आफूहरूको उचित बासको व्यवस्थापन गर्नुपर्ने बताएका छन् । अहिले स्थानीय स्कुल र वनको छेउमा टहरा बनाएर बसिरहेका बाढीपीडितले आफूहरूका समस्या समाधानप्रति सरकार गम्भीर हुन नसकेको गुनासो गरेका छन् । उनीहरूले सन्धीयाघाटदेखि लक्ष्मणपुर बाँधसम्मको २८ किलोमिटर जमिनमा दायँबायाँ स्थायी तटबन्ध गर्नुपर्ने, जोखिममा रहेका गाउँलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्नुपर्ने, लगायतका आठवटा माग राखेका छन् ।
उक्त कार्यशालामा संघीय साँसद महेश्वर गहतराजले बाढीपीडितका समस्या समाधानका लागि आफू तर्फबाट जतिसक्दो चाँडो पहल गर्ने बताएका छन् । उनले यस बिषयमा आफूले आगामी संसद बैठकमा समेत बहसमा ल्याउने बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले यो समस्या राष्ट्रिय तहको भएकाले जिल्ला तहबाट समस्या समाधानका लागि सम्भव नहुने र समस्या समाधानका लागि आफूले सम्बन्धीत निकायमा पहल गर्ने बताएका छन् ।
कार्यशालामा इन्सेक पाँच नंम्बर प्रदेशका प्रदेश प्रमुख भोला महतले राप्तीपारीका क्षेत्र डुबान र भारतले निर्माण गरेको बाँधको बिषय राष्ट्रिय स्तरको भएकाले दुई देशबीचको कुटनितिक सम्वादको खाँचो रहेको बताए । अन्तराष्ट्रिय सीमा समबन्धी कानूनको पालान गर्दै दुवै देशले राप्तीपारीका नागरिकको समस्या समाधानका लागि बहस गर्नुपर्ने उनको भनाई छ ।
फियानका क्षेत्रीय संयोजक सुरशेकुमार गौतमको अध्यक्षतामा भएको कार्यशालामा अधिकारकर्मी बसन्त गौतम, बाँकेका प्रहरी प्रमुख अरूण पौडेल, शसस्त्र प्रहरीका एसपी भेषबहादुर थापा, डुडुवा गाउँपालिका वडा नं ३ का अध्यक्ष भण्डारीलाल यादव, विभिन्न् वडाका जनप्रतिनिधी, सरकारी कार्यालयका प्रमुख लगायतको सहभागीता रहेको थियो ।