विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई यसरी नापियो


विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई यसरी नापियो

नेपालगन्ज : विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर ८८४८.८६ मिटर कायम भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिको सहयोगमा विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरेको हो ।

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर भएको छ । एक सय ७० वर्षे सगरमाथा मापनको ईतिहासमा नेपाल आफैंले स्रोत व्यवस्थापन र जनशक्ति परिचालन गरेर उचाई मापन सम्पन्न गरेसँगै उचाइबारे भएका दुविधा र आशङ्काको निवारण भएको छ ।

भूमि व्यवस्था मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । यसका लागि विभागले १३ करोड रुपैयाँ खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापन सम्पन्न गरेको छ । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुन सक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएसगैं सगरमाथाको उचाई मापन सम्बन्धिको ईतिहासका बारेमा पनि जानकारी हुन आवश्यकछ ।

Kanti Aarogya Hospital Nepalgunj

सगरमाथाको उचाइ मापनका लागि नापी विभागका प्रमुख अधिकृत (हालका उपसचिव) खिमलाल गौतमको नेतृत्वमा अधिकृत रवीन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालको टोली गएको थियो । टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेको थियो ।

सगरमाथाको उचाइ मापन परम्पारगत विधि (समतल नापी) तथा आधुनिक विधि (जिएनएसएस) र स्थलगत भूआकर्षण सर्वेक्षण जस्ता विधि अवलम्बन गरिएको विभागले जनाएको छ ।

मापन शुरु गर्नुपूर्व विभागले दुई वर्षअघि भारत, चीन, अमेरिका, इटलीलगायत देशका वैज्ञानिकलाई अन्तरराष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो र विज्ञकै सुझावका आधारमा कार्यविधि तयार गरिएको थियो ।

यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इण्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेको भएपनि त्यसले आधिकारिक मान्यता भने पाएको थिएन । सन् १९५४ मा भारत र सन् १९७५ चीनले सगरमाथाको उचाइ मापन गरेको थियो ।

त्यसैगरी सन् १९८७, सन् १९९२ र सन् २००४ मा इटालीले तथा सन् १९८९ मा अमेरिकाले मापन गरेको थियो । त्यस्तै सन् २००५ मा पुनः चीन र सन् २०१० मा इटालीले सगरमाथाको उचाइ मापन गरेका थिए । सगरमाथाको उचाइ नाप्न तीन वटा विधि ‘डाइरेक्ट मिजरमेन्ट’ अन्तर्गत प्रत्यक्षरुपमा अगाडि र पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिएको छ । त्यस्तै, ‘ट्रेंगुलेसन’ विधिबाट पनि उचाइ नापिएको छ ।

यसअनुसार निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र त्यसै आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाइ मापन गरिएको हो । तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने । जिपिएस प्रणालीबाट पनि उचाइ मापन हुन्छ । सन् २००५ मा चीनले यही विधिबाट सगरमाथाको उचाइ नापेको थियो ।