जन्तीबिना सीताको विवाह


जन्तीबिना सीताको विवाह

जनकपुरधाम : प्रत्येक वर्ष विवाह पञ्चमीको दुई साताअघिदेखि नै चहलपहल हुने जानकी मन्दिर यस वर्ष सुनसान जस्तै छ । कोरोना भाइरस संक्रमणकाबीच विभिन्न धार्मिक गतिविधि हुन सकेकोछैन । यहीबीच आगामी पुष ४ गते शनिबार परेको विवाह पञ्चमी आउन एक साता बाँकी रहँदा समेत कुनै रौनक देखिएको छैन ।

वर्षौंदेखि चल्दै आएको परम्परालाई यस वर्ष सीमित रुपमा मनाइने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताएका छन् । योसंगै कोरोना भाइरसको कहरकाबीच बिभिन्न धार्मिक गतिविधि हुन नसकेको जानकी मन्दिरमा यस पटकको विवाह पञ्चमी पनि प्रभावित हुने भएको छ ।

यस पटक विवाह पञ्चमीलाई सीमित रुपमा मनाउन सप्ताहव्यापी कार्यक्रम घोषणा गरिएको छ । मंसिर २९ गते जनकपुर नगर दर्शन, ३० गते फूलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह र ५ गते रामकलेबा विधि गरिनेछ ।

यसैबीच, कोरोना कहरका कारण यस पटकको विवाह पञ्चमीमा भारतबाट जन्तीसमेत नआउने जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दासले जानकारी दिए । ‘कोरोना भाइरसको संक्रमण कायमै रहेकाले यस पटक विवाह पञ्चमीको अवसरमा कुनै उत्सव गरिने छैन,’ जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दासले भने, ‘विधि पुर्याउने काम मात्रै हुन्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

जन्ती आउने सम्बन्धमा यसअघिका वर्षहरुमा पहिला नै जानकारी आउने गरिन्थ्यो । तर यस पटक भारतको अयोध्याबाट कुनै खबर नआएको उनले बताए । नेपाल–भारत सीमा बन्द भएका कारण भारतीय श्रद्धालु र जन्ती आउने सम्भावना नरहेको उनको भनाइ छ ।

भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउने गरिन्छ । जनकपुरधामस्थित जानकी मन्दिरमा यो पर्व उत्सवकै रुपमा मनाउने गरिन्छ ।

यस दिन भगवान रामको जन्मस्थल अयोध्याबाट प्रत्येक वर्ष जनकपुरमा जन्ती आउने गर्दछन् । जनकपुरधामलाई माता जानकीको माइती मानिन्छ । त्रेतायुगमा भगवान राम र सीताको विवाह भए अनुसारकै प्रकृया अपनाएर यहाँ विवाह पञ्चमी मनाउने गरिन्छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द गरिएको नेपाल–भारत सीमा अझै खोलिएको छैन ।