कोरोनाविरुद्धको खोप ६ सयमा किन्न पाइने


कोरोनाविरुद्धको खोप ६ सयमा किन्न पाइने

File Photo

नेपालगन्ज : कोरोना भाइरस विरुद्धको खोप अब सर्वसाधरणले खरिद गर्न पाउने भएकाछन् । यसकालागि प्रतिब्यक्ति ६ सय रुपैयाँ मात्र तिर्नुपर्ने हुन्छ । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी, भारतको सेरम इन्स्टिच्युटले कोरोनाविरुद्धको खोपको स्वीकृतिका लागि आवेदन दिएपछि यस्तो सुविधा आएको हो ।

कम्पनीले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग सहकार्य गरि खोप विकास गरिरहेको छ ।  सेरमका प्रमुख, अदर पुनवालाले यसबारे ट्वीट गर्दै भनेका हुन्,‘हामीले वाचा गरे अनुरुप यस वर्षको अन्त्यसम्म भारतमै बनेको खोप, ‘कोभिसिल्ड’ लाई आपत्कालीन प्रयोगका लागि स्वीकृति माग गरिसकेका छौँ ।’

यो अनुसन्धानात्मक खोप २ देखि ८ डिग्रीको तापमानमा राख्न सकिन्छ भने भारतमा अत्यन्तै सहज रुपमा वितरण गर्न पनि सकिने बताएको छ जहाँ विश्वकै दोस्रो ठूलो संक्रमण दर रहेको छ ।

भारतीय मिडियाहरुका अनुसार सेरमले बुझाएको आवदेनमा बेलायत, ब्राजिल र भारतबाट प्राप्त क्लिनिकल डाटाका आधारमा कोभिसिल्ड खोप कोभिड संक्रमणविरुद्ध अधिक प्रभावकारी रहेको उल्लेख गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यस्तै भारतीय खोप निर्माताहरुका अनुसार सेकेन्डरी बजारमा पनि यो खोप बिक्री गर्ने तयारी भइरहेको छ । निजी क्षेत्रले पनि खोप किन्न सक्ने यो पहिलो संकेत भएको बताइएको छ । खोप भारतमा मार्चदेखि नै खरिदका लागि उपलब्ध हुने बताइएको छ । उत्पादन गर्न यसअघि नै लाइसेन्स प्राप्त गरिसकेको सेरम इन्स्टिच्युट अफ इन्डियाले हालसम्म ४ करोड डोज तयार गरिसकेको र यो महिना १० करोड उत्पादन गर्ने बताएको छ ।

त्यसैले प्रयोगका लागि खोप स्वीकृत हुनासाथै पहिले यो भारत सरकारलाई आपूर्ति गरिनेछ र पछि २ देखि ३ करोड डोज चाहिँ निजी क्षेत्रलाई बिक्री गरिने कम्पनीका प्रमुख, अदर पुनवालाले बताएका हुन् । उनले फाइनान्सियल टाइम्ससँग बोल्दै भनेका छन्, ‘अहिले सबैले हामीसँग, मैले कहिले खोप पाउँछु भनेर सोधिरहेका छन् र त्यसको जवाफमा मैले मार्च या अप्रिलभित्रमै उपलब्ध हुनेछ भनेको छु ।’

सेरमले एस्ट्राजेनेकाको खोपलाई रिटेलमा झण्डै ६०० भारुमा भारतीय निजी बजारमा बिक्री गर्ने अपेक्षा गरेको छ । भारत सरकारका लागि भने सेरम इन्स्टिच्युटले उदारवादी मनोसायले, प्रति डोजको ३ डलर निर्धारित गरेको पुनवालाले बताएका हुन् । भारतीय प्रधानमन्त्री मोदीको सरकारले यसअघि जुलाइ २०२१ सम्ममा कम्तिमा पनि ३० करोड डोज आवश्यक पर्ने बताएको थियो जसमा पहिलो प्राथमिकता फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी अनि त्यसपछि जेष्ठ नागरिकलाई दिइने बताइएको छ तर, अहिलेका लागि भने सबै खोप स्वीकृत हुने पर्खाइमै छन् ।

पुनवालाका अनुसार एस्ट्राजेनेका खोप बेलायतमा स्वीकृत हुनासाथै भारतमा पनि आपत्कालीन प्रयोगका लागि छिटै स्वीकृत हुनेछ र आगामी जनवरीदेखि नै प्रयोगमा ल्याउन सकिनेछ ।

यता शुक्रबार मात्र एक बैठकमा बोल्दै प्रधानमन्त्री मोदीले अबका केही हप्तामै भारतीय उद्यमीहरुले अति अपेक्षित कोरोनाविरुद्धको खोप उत्पादन शुरु गर्ने बताएका हुन् ।
एक भर्चुअल बैठकमा उनले भनेका हुन्, ‘विज्ञहरुको विश्वासमा अब हामीले भ्याक्सिनका लागि लामो समय पर्खनुपर्ने छैन । र आउँदा केही हप्तामै खोप तयार हुनेछन् । अहिले सरकार यसैका लागि वैज्ञानिकहरुको स्वीकृतिको पर्खाइमा छ ।’

त्यसैगरी उनले भारतमा हाल कोभिडविरुद्धका आठवटा खोपहरु विभिन्न चरणमा निर्माण भइरहेको पनि बताएका हुन् । तीमध्ये पनि तीनवटा चाहिँ पूर्ण रुपमा स्वदेशी रहेका छन् । यसमा हाइद्रावादस्थित भरत बायोटेक कम्पनीले ‘इन्डियन काउन्सिल मेडिकल रिसर्च, आइसीएमआरसँगको सहकार्यमा निर्माण गरिरहेको पहिलो स्वदेशी खोपको तेस्रो ट्रायल गत महिना नै सुरु भएको थियो ।