सांकेतिक तस्विर
नेपालगन्ज : कोरोना भाइरस संक्रमणकाबीच पछिल्लो समय देशभर शैक्षिक संस्था खुलेकाछन् । कोरोना भाइरसको कहरबीच खुलेका कतिपय विद्यालयका शिक्षक तथा विद्यार्थीमा समेत कोरोना भाइरस संक्रमण देखिन थालेकाछन् ।
यहीबीच खुलेको शैक्षिक संस्था र यस वर्षको शैक्षिक शत्र सकिन अब तीन महिना मात्र बाँकी छ । शैक्षिक शत्र सकिनै लाग्दा यस वर्षको एसईई परीक्षा हुने नहुनेमा अन्यौलता देखिएकोछ ।
गत वर्ष चैत ६ गतेका लागि निर्धारण गरिएको एसईई परीक्षा कोरोना भाइरस संक्रमणका कारण परीक्षा हुने एक दिन अघि बेलुका सरकारले स्थगित गरेको थियो । उत्तरपुस्तिका, प्रश्नपत्र सबै परीक्षा सेन्टरमा पु¥याएको सरकारले परीक्षा दिन आफ्नो परीक्षा केन्द्र पुगेका विद्यार्थी निरास भएर फर्केका थिए ।
गत वर्षको परीक्षा तालिकालाई आधार मान्ने हो भने यो वर्षको एसईई सुरू हुन जम्मा १३ हप्ता बाँकी छ । तर, परीक्षाको तयारी भने शुन्य छ । दूरशिक्षाको पहुँच बाहिर रहेका विद्यार्थीले पढ्न समेत पाएका छैनन् ।
माध्यमिक परीक्षा बोर्डका अनुसार यतिबेला प्रश्नपत्र तयार पारेर छाप्न पठाउनुपर्ने हो तर, अहिलेसम्म परीक्षाको आवेदन खुलाउन सकेको छैन । यही गतिमा अघि बढे यस वर्षको एसईईको प्रभावित हुने पक्का छ ।
सामान्यतया साउनमा परीक्षा आवेदन खुलिसकेको हुन्थ्यो । तर, पुस लाग्ने बेलासम्म कति विद्यार्थीका लागि तयारी गर्ने हो भन्ने नै यकिन नभएको बोर्डले जनाएकोछ ।
यसैबीच, परीक्षा बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विकल्प सहित एसईईबारे निर्णय गर्न पत्राचार गरिसकेकोछ । तर, मन्त्रालयले यस विषयमा कुनै निर्णय लिन सकेको छैन ।
२०७७ जेठमा मन्त्रिपरिषद् बैठकले परीक्षा नलिने आन्तरिक मूल्यांकनका आधार ग्रेड निर्धारण गर्ने निर्णय गरेको थियो । त्यसपछि सम्बन्धित विद्यालयले पठाएको अंकलाई बोर्ड मान्यता दियो ।
गत वर्ष मन्त्रिपरिषद्ले नै निर्णय गरेकाले यसपटक के गर्ने भन्ने विषयमा सरकार निर्णयमा पुग्नुपर्ने जानकारहरू बताउँछन् । अघिल्लो वर्ष जस्तै सम्बन्धित विद्यालयलाई जिम्मा दिने, प्रदेश शिक्षा निर्देशनालयलाई परीक्षा सञ्चालन गर्न दिने वा माध्यमिक परीक्षा बोर्डलाई दिने भन्ने निर्णयमा पुग्नुपर्ने बोर्डका अधिकारीहरू बताउँछन् ।
मन्त्रालयले भने विद्यालयलाई परीक्षा सञ्चालन गर्न दिने, गत वर्षजस्तै विद्यालयलाई आन्तरिक मूल्यांकन गर्न दिने वा माध्यमिक बोर्डलाई परीक्षा लिन दिने भन्ने विषयमा छलफल गरिरहेको छ ।
करिब ९ महिनापछि खुलेका शैक्षिक संस्थामा विद्यार्थी अध्ययनका लागि जान सकेका छैनन् । कोरोन भाइरस कहरकैबीच कतिपय अभिभावकले आफ्ना बच्चालाई विद्यालय समेत नपठाएको पाइएकोछ । यस्तो अवस्थामा विद्यालयको पाठ्यपुस्तक समेत अघि बढ्न सकेको छैन ।
तिहारअघिसम्म केही विद्यालयले शुरु गरेको अनलाई कक्षामा समेत आधाभन्दा बढि विधार्थी सहभागि हुन सकेका छैनन् । यस्तोबेला कसरी मूल्यांकन गर्ने भन्ने विषयमा समेत सम्बन्धि विद्यालयका शिक्षकमा फरक मत रहदै आएकोछ ।
यता शिक्षाविद्का अुनसार एसईईको सट्टा कक्षा १० को परीक्षा लिनुपर्ने बताइरहेका छन् । राष्ट्रिय शिक्षा नीति अनुसार एसईई प्रदेश सरकारको अधिकार क्षेत्रमा पर्छ । शिक्षा नीति संशोधन गरेर विद्यालयलाई परीक्षा सञ्चालनको अधिकार दिनुपर्ने शिक्षाविद्हरू बताउँछन् ।
कोरोना भाइरस कहरकाबीच एसईईको सट्टा कक्षा १० को परीक्षा सम्बन्धित विद्यालयले लिए प्रश्नपत्र छाप्ने झन्झट पनि नहुने शिक्षाविद् बताउँदै आएकाछन् ।