नेपालगन्ज : कोरोना संक्रमणका कारण बाँकेमा एक गर्भवती महिलाको मृत्यु भएकोछ । कोरोना संक्रमित ती महिला ३० हप्ताकी गर्भवती थिइन् । उनको मृत्युसगैं गर्भमा रहेको बच्चको समेत ज्यान गएकोछ ।
जिल्ला कोभिड –१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार शुक्लाफाँटा–१० की २८ वर्षिय गर्भवती महिलाको बुधबार राती १ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
केन्द्रका फोकल पर्शन तेज ओलीका अनुसार सेती अस्पतालमा मंसिर २६ गते कोरोना पुष्टि भएपछि ती महिलालाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल ल्याइएको थियो ।
कोरोना पोजेटिभ पाइएकी महिलाको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि थप र राम्रो उपचारका लागि भन्दै उनका परिवारले मंसिर २६ गते नै अपरान्ह चार बजे कोहलपुर ल्याएका थिए ।
राम्रो उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल पु¥याइएकी ती महिलाको रोगको प्रकृति अनुसार एन्टिबायोटिज, रेमडिसिभर, डेकसोना, भीट सी र जीन लगायत भेन्टिलेटरमा राखेर सबै प्रकारको आवश्यक प्रकृया पुरा गरि उपचार गर्दा पनि महिलाको स्वास्थ्यमा सुधार नभएपछि उपचारकै क्रममा मृत्यु भएको हो ।
कोरोना पोजेटिभ पाइएकी महिलाको ४ दिनपछि उपचारका क्रममा मृत्यु भयो । हामीले उनको स्वास्थ्य सुधारका लागि भरपुर प्रयास गर्दा पनि उनमा गम्भिर प्रकृतिको कोभिड–१९ को संक्रमित हुदाँ श्वासप्रश्वासमा समस्या भई निमोनियाका कारण मृत्यु भयो । केन्द्रका फोकल पर्शन तेज ओलीले भने– उनको निधनप्रति गहिरो समबेदना छ । बचाउन प्रयास गरियो तर सकिएन ।
यसबीच कोहलपुर ल्याउँदा उनको अवस्था गम्भीर रहेको अस्पतालले बताएको छ । बाँकेमा योसहित बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा ७० जनाको मृत्यु भइसकेको छ ।
यसैबिच बुधबार बाँकेमा ११ जना डिस्चार्ज भएका छन् । सात महिला र चार पुरुष डिस्चार्ज भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले सार्वजनिक गरेको छ ।