File Photo
नेपालगन्ज : कोरोना भाइरस महामारिकाबीच पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुल्ला गरिएकोछ । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै नौ महिनाअघिदेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको हो ।
पशुपतिनाथ मन्दिर खुल्ला गरिएसगैं आराध्यदेव पशुपतिनाथको दर्शन गर्न श्रद्धालुहरु आज बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए । पुसको जाडोको प्रवाह नगरी भक्तजनहरु पशुपतिनाथ दर्शनका लागि आइरहेका छन् ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालका अनुसार हाल भक्तजनहरुलाई पश्चिमतर्फको सानो ढोकाबाट प्रवेश गराउने र पश्चिमतर्फकै ठूलो ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।
यद्यपि भक्तजनहरुलाई मास्क अनिवार्य गरिएको छ । ढोकाबाट प्रवेश गर्नुअघि हात स्यानिटाइज्ड गर्नुपर्छ । जुत्ताचप्पल राख्ने ठाउँमा पनि हात धुने र स्यानिटाइज्ड गर्ने व्यवस्था मिलाइएको छ । त्यहाँबाट अगाडि बढेपछि तापक्रम नाप्ने कोठामा जानुपर्छ । त्यहाँ जडान गरिएको अटोमेटिक मेसिनले भक्तजनको तापक्रम रेकर्ड गर्छ ।
यदि बढी तापक्रम देखाएमा भक्तजनलाई त्यहीँबाट फर्काइन्छ । सामान्य तापक्रम भएकाहरुलाई भौतिक दूरी कायम गरी लामबद्ध भएर पशुपतिनाथ मन्दिरमा प्रवेश गर्ने व्यवस्था मिलाइएकोछ । पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गरिए पनि अझै केही समय भक्तजनले रसिद काटेर गरिने विशेष पूजा गर्न पाउने छैनन् ।
यसैगरी मूल मन्दिर परिसरमा दैनिक हुने गरेको भजनलगायत गतिविधि पनि तत्काल हुने छैन । यद्यपि यी सबैलाई क्रमशः खुला गरिने कोषका सदस्य सचिव डाक्टर ढकाल बताउँछन् ।
पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुल्ला गर्नुअघि अघिल्लो दिन क्षमा पूजा गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमासहित विशेष पूजा गरेकी थिइन् । कोरोना महामारीबाट मुक्ति, देश एवं विश्व शान्तिको संकल्पसहित मूल मन्दिर, परिसरका देवीदेवताको पनि पूजा आराधना गरिएको थियो ।