डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाले व्यक्तिगत घटना दर्ताका लागि घरदैलो अभियान शुरु गरेको छ । गाउँपालिकाका कुनै पनि नागरिकले सेवाबाट बञ्चित नहुन र समयमा नै घटना दर्ता गर्ने बानीको विकास गरुन भन्ने उद्देश्यले घर–घरमा पुगेर घटना दर्ताको विवरण संकलन शुरु गरिएको हो ।
नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्र्तगत डुडुवा गाउँपालिकाद्वारा शुरु गरिएको व्यक्तिगत घटना दर्ता शिविरको वडा नम्बर–२ मा बुधबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुभारम्भ गरे । शुभारम्भ गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिकलाई सेवाबाट बञ्चित हुन नदिन र घरघरमा सेवा पुर्याउने लक्ष्य अनुसार घरदैलो अभियान शुरु गरिएको बताए ।
उनले भने –‘हाम्रो मधेशी समुदायमा अशिक्षाको कमी छ, काम लागेमा मात्र कागजात बनाउने परम्परा रहेको छ, त्यसको अन्त्य गरि समयमा घटना दर्ता गराउन सचेतना अभिबृद्धि गराउन घरदैलो अभियान शुरु गरेका छौं ।’ अध्यक्ष चौधरीले यो अभियानसंगै केही दिनभित्रै जग्गाको मालपोत कर पनि घरदैलो अभियानमार्फत संकलन गर्ने तयारी भईरहेको बताए ।
शिविरमा गाउँपालिकाबाट वडा सचिवसहितको करिब ४२ जना जनशक्ति परिचालन गरिएको पालिकाका एमआइ अपरेटर कौशलकुमार कैरातीले जानकारी दिए । उनका अनुसार प्रत्येक घरमा पुगेर घटना दर्ताका लागि विवरण संकलन गरि प्रमाणपत्र तयार गरेर फेरी घरमै पुर्याइने छ ।
गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्म करिब १० हजार घरधुरीमा घटना दर्ता अन्र्तगत जन्म, मृत्यु, विवाह र बसाईसराइ लगायतका घटना दर्ताका लागि विवरण संकलन गरिने वडासचिव शिवकुमार मौर्यले जानकारी दिए ।