File Photo
नेपालगन्ज : मौसममा आएको परिर्वतनसंगै बाँके सहित देशभर ह्वात्तै चिसो बढेकोछ । आज विहानैदेखि बाँके लगायत आसपासका क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागिरहेकोछ । बाक्लो हुस्सु र कुहिरोका साथै चिसो हावा चल्दा नेपालगन्ज लगायत देशभर चिसो बढेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहानैदेखि तराई तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । ‘पश्चिम तराईमा बाक्लो हुस्सु लागिरहेको छ । तर, यो मध्यान्हसम्म विस्तारै हटेर जाने छ । पश्चिम तराईको तुलनामा पूर्वी तराईमा केही पातलो हुस्सु लागिरहेको छ,’ मौसमविद् मञ्जु बासीकाका अनुसार ‘वागमती र गण्डकीको पहाडी भू–भागमा पनि कुहिरो लागिरहेको छ ।’
तराईमा दिउँसोसम्म लाग्ने हुस्सुका कारण तापक्रममा आउने कमीका कारण चिसो हुने भन्दै त्यसबाट बच्न आवश्यक सतर्क हुनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तराईमा चिसोबाट बच्न बिहान बेलुका चोकचोकमा आगो बालेर ताप्ने चलन छ । बाक्लो हुस्सुका कारण भिजिलिटी कम हुने भएकाले सडक तथा हवाई यातायात सेवा समेत प्रभावित बन्न पुगेकोछ ।
दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज यो वर्षकै सबैभन्दा बढि चिसो
यसैबीच, काठमाडौं उपत्यकामा आज यो वर्षकै चिसो महसुस गरिएको छ । बिहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ ।
‘आज विहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ । यो आजसम्मको यो वर्षकै न्यून तापक्रम हो,’ मौसमविद् बासीले जानकारी दिइन् । उनका अनुसार दिउँसो १७–१९ डिग्री सेल्सियस तापक्रम रहने छ ।
काठमाडौं उपत्यकामा आज दिनभर मौसम सफा रहेन छ । यद्यपि घाम लागे पनि त्यति धेरै तातो महसुस नहुने मौसमविद् बासीको भनाइ छ ।
चिसोबाट नागरिकलाई बचाऊ
यता पछिल्लो समय नेपालगन्ज लगायत आसपासको क्षेत्रमा ह्वात्तै चिसो बढेपछि चिसोबाट नागरिकलाई बचाउन भन्दै प्रशासनको ध्यानाकर्षण गराईएकोछ ।
चिसोका कारण यसक्षेत्रको दैनिकी प्रभावित बन्दा सम्बद्ध सरोकारवालाले चासो ब्यक्त गरेका हुन् । दिनहुँ बढ्दै गएको चिसो र शीतलहरले यस क्षेत्रका विद्यालय, दैनिक मजदूरी गर्ने श्रमिक, बालबालिका तथा जेष्ठ नागरिक, असाहय तथा गरिबहरु बढी प्रभावित भएपछि यसबाट बच्न र पूर्व तयारी गर्न सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो ।
बाँकेमा चिसो तथा शितलहरबाट बच्ने उपाय तथा पुर्व तयारी र योजना बनाउन भन्दै केन्द्रले प्रशासनको ध्यानकार्षण गराएको हो ।
केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी नेतृत्वको नागरिक अगुवाहरुको टोलीले बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक रामबहादुर कुरुम्बाङ्गलाई उक्त ध्यानाकर्षण पत्र प्रदान गरेका छन् ।
चिसोबाट बच्ने उपाय तथा व्यवस्थापन र आमनागरिकको जिवन रक्षाका लागि तयारी तथा कार्यक्रम, विभिन्न सरोकारवाला निकायले चिसो तथा शितलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सोबाट बच्ने उपायका विषयमा प्रत्येक गाउँ, टोल र घर–घरमा गई जनचेतना फैलाउने कार्य, प्रत्येक टोलटोलमा काठ दाउराको व्यवस्थापन, उपभोक्ता तथा आम नागरिकका लागि तत्काल तातो खानेपानीको उचित व्यवस्थापन, लगायत ६ बुंदे ध्यानाकषर्ण पत्र बुझाइएको हो ।