क्लिनिकल परीक्षण गर्ने अनुमति पनि पाइसकेको छ
काठमाण्डौं : सूर्तिको बोट (टोबाको प्लान्ट्स)बाट कोरोना भाइरसविरूद्ध खोप बनाउन ब्रिटिस अमेरिकन टोबाको कम्पनी अघि सरेको छ । चुरोट बनाउन प्रयोग हुने सूर्तिबाट उसले बनाएको खोप मानिसमा परीक्षण गर्न पनि अमेरिकाले अनुमति दिइसकेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा भने उसले उत्पादन गर्ने ‘लक्की स्ट्राइक’, ‘रोथमान्स’ र ‘बेन्सन एन्ड हेजेज’ चुरोट प्रसिद्ध छन् । यो कम्पनीद्वारा उत्पादित खोप अमेरिकाको सरकारी निकाय खाद्य तथा औषधि विभाग (एफडिए)ले वयस्कहरू मार्फत् क्लिनिकल परीक्षण गर्न अनुमति दिएको हो ।
विश्वकै एकसेएक औषधि उत्पादक फर्मास्युटिकल कम्पनीले हानाथाप गरिरहेको यो मैदानमा ब्रिटिस अमेरिकन टोबाको कम्पनी फरक तवरले उभिएको छ । अन्य औषधि उत्पादकले महिनौं लगाएर पुरानो तवरले खोप तयार पार्ने गरेको भन्दा बेग्लै आफूले छ सातामै तयार पारेर देखाइदिने कम्पनीले जानकारी पनि दिएको छ ।
चुरोटका निम्ति उत्पादन हुने सूर्तिमा खोपका लागि आवश्यक पर्ने तत्वहरू असाध्यै छिट्टै तयार हुने भएकाले आफूहरूले चाँडै खोप बनाउन सक्ने दाबी कम्पनीको छ ।अर्को रोचक के छ भने, ब्रिटिस अमेरिकन टोबाको कम्पनीले आफूले उत्पादन गरेको खोप सामान्य तापक्रमको कोठामै सञ्चित गरेर राख्न सकिने दाबी गरिरहेको छ । जबकि अघिल्ला प्रमाणित खोपका निम्ति अत्यन्तै कम तापक्रम चाहिने अवस्था थियो ।
अझ बेलायतमै यतिबेला प्रचलित फाइजर र बायो एन टेकले उत्पादन गरेको खोप त माइनस ७० डिग्री तापक्रममै जोगाएर राख्नुपर्ने किसिमको छ । यो खोप ब्रिटिस अमेरिकन टोबाको कम्पनीको बायो टेक्नोलोजी डिभिजनले तयार पारेको हो । यो डिभिजन केन्टकी राज्यको ओनेसबोरो स्थित केन्टकी बायो प्रोसेसिङ मातहत छ । यसले योभन्दा पहिले पनि इबोला भाइरसको उपचारका क्षेत्रमा काम गरेको थियो भने मौसमी रुघा खोकीको खोप पनि बनाउँदै आइरहेको छ ।
कम्पनीका अनुसार केन्टकी बायो प्रोसेसिङले सबभन्दा पहिले कोरोना भाइरसको ‘जेनेटिक सिक्वेन्स’ मात्रालाई ‘क्लोनिङ’ गरेको थियो । त्यसैबाट ‘एन्टिजेन’ विकास गरियो । अनि त्यसलाई प्रजननका निम्ति सूर्तिका बोटमा हालियो ।
चुरोटका निम्ति उत्पादन हुने सूर्तिको खेती अब ‘बायो म्यानुफ्याक्चरिङ फ्याक्ट्री’ (खोप उत्पादन गर्ने कारखाना) मा रूपान्तरण हुन पुगेको केन्टकी बायो प्रोसेसिङले बताएको छ । सूर्तिको यो प्रक्रियाबाट उत्पादन गर्न सकिने प्रोटिन अरू विधिबाट सम्भव नहुने दाबी पनि उसको छ ।
कम्पनीका अनुसार यसबाट छ साताभित्रै तीन मिटर अग्लो बोटको खेती र उत्पादन सम्भव छ । यसको अर्थ, परम्परागत विधिभन्दा यस किसिमको प्रोटिन उत्पादन यस तरिकाबाटै चाँडो हुनेछ । परम्परागत विधिबाट त यस्तो प्रोटिन उत्पादन हुन महिनौं लाग्ने केन्टकी बायो प्रोसेसिङ बताउँछ ।
यो बायो प्रोसेसिङ कम्पनीलाई ब्रिटिस अमेरिकन टोबाको कम्पनीले सन् २०१४ मा किनेको हो । आफूहरूले चुरोटका निम्ति उत्पादित सूर्तिलाई पनि अनुवांशिक विधिबाटै अस्थायी रूपमा इनकोड गरेर खोजेजस्तै प्रोटिन तयार पारिदिनसक्ने दाबी उसको छ ।
‘हामीले उत्पादन गरेका कोरोना र मौसमी रुघाखोकीको खोप पनि मानवमा परीक्षण गर्ने अनुमति मिल्नुले कम्पनीका निम्ति एउटा कोशेढुंगा खडा गरेको छ,’ ब्रिटिस अमेरिकन टोबाकोका वैज्ञानिक अनुसन्धान निर्देशक डाक्टर डेभिड ओ रेली भन्छन्, ‘यसले हामीलाई जीव विज्ञानका क्षेत्रमा थप अनुसन्धान र विकासमा अघि बढ्न प्रोत्साहित गरेको छ ।’
ओ रेलीका अनुसार वनस्पतिमा आधारित यो आफैंमा नौलो खोप प्रविधि हो जुन थुप्रै रोगविरूद्ध तीव्र गतिमा ‘एन्टिजेन’ तयार पार्न अत्यन्तै प्रभावकारी हुनेछ । ‘संसारभर सुरक्षित र प्रभावकारी उपचारका निम्ति खोपको खोजी तीव्र भएको छ,’ उनी भन्छन्, ’यो नयाँ खोजीले हामीलाई पनि त्यसमा योगदान दिन बाटो तयार पारिदिएको छ ।’
ब्रिटिस अमेरिकन टोबाकोले उत्पादन गर्ने खोप कतिपय मामलामा अहिले अमेरिका र बेलायतमा लगाउन सुरू गरिसकेका ठूला कम्पनीको उत्पादनभन्दा अलिपछाडि भने छ । विशेषगरी फाइजरजस्तो कम्पनीको उत्पादनभन्दा यो पछाडि नै छ भने एस्ट्राजेनेका र मोडेर्नाभन्दा चाहिँ धेरै पछाडि छैन ।
तर, जुन प्रकार यो विधिबाट कम समयमै ठूलो मात्रामा भरपर्दो खोप उत्पादन गर्न सक्ने र सामान्य कोठाको तापक्रममै राख्न सकिने भनेर दाबी गरिएको छ, त्यो हेर्दा यसले विश्वभरको जनसंख्यालाई सकेसम्म छिटो खोप उपलब्ध गराउन भने मद्दतै गर्ने देखिन्छ । -सेतोपाटीबाट