नेपालगन्ज : नेपालमा हाल उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी तथा मध्य तराई भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ ।
केही दिनदेखि देशभर चिसो बढ्दो क्रममा रहेको छ । पछिल्लो तीनदिन यता नेपालगन्ज सहित आसपासका क्षेत्रको तापक्रम घट्दो छ ।
बाँकेसहित तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ । शनिबार बिहानैबाट लागेको हुस्सुका कारण जनजिवन प्रभावित भएको छ । कुहिरोका कारण सडकनै अँध्यारो देखिएपछि सवारी साधनले दिउँसोको समयमा पनि लाईट बाल्नु परेको छ ।
नेपालमा अहिले सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियस रहेको छ भने जिरीको माइनस ३.५ डिग्री सेल्सियस रहेको छ ।
यस्तै दीपायलको न्यूनतम तापक्रम ०.७ डिग्री सेल्सिय रहेको छ भने वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.८ रहेको छ । ताप्लेजुङको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शनिबार) प्रदेश–१, वागमती प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन विभागले आग्रह समेत गरेको छ ।
आज राति प्रदेश–१, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । विभागका अनुसार आईतबार दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै आईतबार राति कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सफा रहने विभागको पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार दिउँसो कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यसैगरि विभागले सोमबार राति कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।