नेपालगन्ज : नेपालमा हाल उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी तथा मध्य तराई भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ । केही दिनदेखि देशभर चिसोबढ्दो क्रममा रहेको छ । पछिल्लो केहिदिन यता नेपालगन्ज सहित आसपासका क्षेत्रको तापक्रम घट्दो छ ।
बाँकेसहित तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ । शनिबार बिहानैबाट लागेको हुस्सुका कारण जनजिवन प्रभावित भएको छ । कुहिरोका कारण सडकनै अँध्यारो देखिएपछि सवारी साधनले दिउँसोको समयमा पनि लाईट बाल्नु परेको छ ।
दिनभरी नै लाग्ने हुस्सु र कुहिरोका कारण घाम नलागेपछि बढेको चिसोले यसक्षेत्रको जनजीवन कष्टकर बनेको हो । शीतलहरसँगै बढ्ने कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव पारेकोछ । चिसोबाट बृद्धबृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जिविका चलाउने बर्ग बढी प्रभावित भएकाछन् ।
दिनभरी नै लाग्ने बाक्लो हुस्सुका कारण घाम नलागेपछि सर्वासाधारणलाई बिस्कुन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहेकोछ ।
शीतलहरले खेतीमा रोगको प्रकोप
लामो समयसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगको प्रकोपले आलु, गोलभेँडा, तोरीलगायतका बाली नष्ट हुने समस्या स्थायी समस्या भइसकेको छ । आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरुपमा भइरहे पनि वर्षेनी देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन किसानलाई मुश्किल हुने गरेको छ ।
यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’(पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यस मुनि गोलभेँडा लगायतका तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । तर, टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले चिसोबाट खेतीबाली बचाउँन बिषादी पनि छर्किने गरेका छन् ।
पटक–पटक बिषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई क्षमता नहुँदा उनीहरुलाई बाली जोगाउनै मुश्किल परेको छ । तापक्रम छर्दा र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको अवस्थामा रहने ढुसी सक्रिय हुने हुँदा किसानले लगाएको तरकारीबालीमा डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ ।
चिसो अझैं बढ्ने
केहिदिनदेखि बढेको चिसो नेपालमा अझैं बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएकोछ । विभागका अनुसार नेपालमा अहिले सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियस रहेको छ भने जिरीको माइनस ३.५ डिग्री सेल्सियस रहेको छ ।
यस्तै दीपायलको न्यूनतम तापक्रम ०.७ डिग्री सेल्सिय रहेको छ भने वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.८ रहेको छ । ताप्लेजुङको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शनिबार) प्रदेश–१, वागमती प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन विभागले आग्रह समेत गरेको छ । आज राति प्रदेश–१, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
विभागका अनुसार आईतबार दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै आईतबार राति कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सफा रहने विभागको पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार दिउँसो कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यसैगरि विभागले सोमबार राति कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।