दुईवर्षदेखि स्वास्थ्य संस्था बन्द


दुईवर्षदेखि स्वास्थ्य संस्था बन्द

जाजरकोट : जनतालाई प्रभावकारी स्वास्थ्य सेवा गाउँ घरमै दिने उद्देश्यले स्थापना गरिएको गाउँ घर क्ल्नििकहरू बन्द भएको छन् । जिल्लाको भेरी नगरपालिका ८ बुरुङे, वडा ९ भुरचौर, वडा १० कालाभुरमा रहेका गाउँघर क्लिनिकहरू बन्द हुँदा सेवा प्रवाहमा समस्या भएका छन् ।

भुरबाट स्वास्थ्यकर्मीहरू गाउँघर किल्निकमा नजाँदा सेवा प्रवाह हुन नसकेको भेरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद शर्माले बताए ।
तीन वटा वडाका स्वास्थ्य संस्था सञ्चालन नहुँदा हजार भन्दा बढी जनसंख्याले स्वास्थ्य सेवा पाउन नसकेको स्थानीयबासीको गुनासो छ । गाउँघर क्लिनिकमा दुइजना स्वास्थ्यकर्मीको दरवन्दी हुने गर्दछ । भेरी नगरपालिकाको दुर्गम मानिने यी वडामा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह नहुँदा दैनिक स्थानीयहरू बिरामी हुँदा सदरमुकाम आउनुपर्ने बाध्यता रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य संस्था बन्द भए पनि सञ्चालन गर्ने कुनै पनि सुरसार नदेखिएको स्थानीयबासी बताउँछन् । पटक, पटक स्वास्थ्य संस्था बन्द भएको र स्वास्थ्यकर्मीहरू सेवा नदिएको जानकारी गराए पनि कुनै प्रकारको कारवाही नभएको उनीहरूको भनाइ छ ।

स्वास्थ्यचौकी भुरमा जिल्लाबाट अनुगमनमा गएको एक टोलीले ६ जना स्वास्थ्यकर्मी भएको ठाउँमा एक जना मात्र स्वास्थ्यकर्मी बसेर सेवा प्रवाह दिएको फेला पारेको थियो । अन्य स्वास्थ्यकर्मीहरू व्यक्तिगत काममा गएको फेला परेको थियो । केही स्वास्थ्यकर्मीले स्वास्थ्य चौकीको गेटमै औषधि पसल स्थापना गरेर निजीमा बढी ध्यान दिएको समेत खुलासा भएको छ ।