नेपालगन्ज : नेपालमा ‘दाईजो प्रथा’ मुलत तराई क्षेत्रमा व्याप्त विसंगति हो, जसले समग्र समाजलाई वद्नाम र कमजोर बनाउँदै आएको छ । छोरीपक्षले दाईजो दिनैपर्ने बाध्यत्मक स्थिती अझै नेपालको तराई क्षेत्रमा कायमनै छ । यसले गर्दा ‘छोरीको जन्म’लाई उनीहरु अभिषाप ठान्ने गर्छन् ।
छोरीको विवाहका लागि भएभरको दाईजो दिने चलनले उनीहरुलाई सधै ऋणी बनाइरहेको छ । यो प्रथा पछौटे समुदायमा मात्र होइन, संभ्रान्त भनिएका र शिक्षित भनिएकाहरुमा पनि उस्तैछ ।
दाईजो दिनैपर्छ भन्ने छैन । यो बाध्यत्मक कुरा पनि होइन । यद्यपी कतिपय समाजमा दाईजो बाध्यत्मक हुनेगर्छ । छोरीको बिहे गराउँदा दुलहा पक्षलाई चित्त बुझ्नेगरी दाइजो दिनुपर्छ । यसरी दाईजो दिनका लागि छोरीपक्षले घरबार बेच्ने र ऋण काड्नेसम्म गर्छन् । छोरीको विवाह गर्दाको ऋणले उनीहरु जीवनभर थिचिने गर्छन् ।
हाम्रो समाजमा पनि यस किसिमको प्रचलन ज्यूँको त्यूँ छ । यसको स्वरुप र भाषा फेरिएपनि दाईजो लिने–दिने क्रम रोकिएको छैन । तर, यस्तै पृष्टभूमीमा एउटा घतलाग्दो प्रसंग हामी माझ आएकोछ । एक दुलहा, जसले दाइजोको नाममा मात्र एक रुपैयाँ लिए । अझ त्यसमा पनि आश्चार्यको कुरा के भने दाईजो स्वरुप दुलहाले एक रुपैयाँ लिएर दुलहीलाई हेलिकोप्टरमा राखेर लगे ।
यो सत्य घटना हाम्रै छिमेकी राष्ट्र भारतको हरियाणाको हो । हरियाणामा रहेको गोहाना स्थित हसनगढ गाँउको वास्तविक कथाले यतिवेला सामाजिक सञ्जालमा मात्र नभइ सवत्र चर्चा र चासो बटुलिरहेकोछ । हालैमात्र गोहनाको हसनगढमा सो विवाह समारोह सम्पन्न भयो । यो विवाहले अहिले सर्वत्र चर्चा पाएको छ । चर्चाको कारण के हो भने, दुलहाका पक्षले दुलही पक्षबाट केही दाईजो स्विकार गरेनन् । उनीहरुले केवल एक रुपैयाँ लिए । त्यो पनि सगुनको रुपमा । जबकी दुलहीलाई उनीहरुले घोडा वा कारमा सवारी गराएनन्, हेलिकोप्टरमा राखेर लगे ।
दुलहीको नाम सन्तोष हो । सन्तोषकी पिता सतबीर एक मजदुर हुन् । १० फेब्रुअरी २०१९ को दिन सन्तोषको विवाह हांसीका रामपुर गाउँको सन्जयसँग भयो । सन्जयको परिवारले विवाहको अघिल्लो दिन नै भनेको थियो कि, विवाहमा हामीलाई केही चाहिँदैन । केवल सगुनको रुपमा एक रुपैयाँ भए पुग्छ । सन्तोष र सन्जयको विवाह भयो तयो पनि एकदमै राम्रो ढंगले । दुलहीलाई विदाई गरियो, हेलिकोप्टरमा । भोजमा आएका गाउँले मात्र नभएर गाउँभरका मान्छेहरु चकित भए ।
ठिक यसै किसिमको अर्को विवाह प्रसंग पनि हामीमाझ सेलाएको छैन । यस्तै तरिकामा सोही गोहान गाउँमा बस्ने एक व्यक्तिले आफ्ना दुई छोरीको विवाह यसअघि गराइदिएका थिए । छोरीको नाम थियो, काजल र निशा । २६ फेब्रुअरीमा उनीहरुको विवाह भएको थियो । एकै गाउँका दुई युवा प्रवीण र राजकुमार दुलहाको रुपमा आए । उनीहरुको धुमधाम विवाह भयो । दाईजोको रुपमा एक रुपैयाँ लिए । दुबैले आ–आफ्ना दुलहीलाई हेलिकोप्टरमा लिएर गए । दाइजो विना केही नसोच्ने समुदायका लागि यो तितो झापट नै हो । सोँच बदलौं दाइजो बहिष्कार गरौं ।