भेरी अस्पतालमा अक्सिजन सहित ९० वेड थपियो


भेरी अस्पतालमा अक्सिजन सहित ९० वेड थपियो

नेपालगन्ज : कोरोना भाइरस संक्रमितको सहज उपचारका लागि थप ९० बेडको कोरोना वार्ड सञ्चालनमा आएकोछ ।

जिल्ला समन्वय समिति र स्थानीय पालिकाहरुको एक करोडको लगानीमा भेरी अस्पताल नेपालगन्जमा थप ९० बेडको कोरोना वार्ड सञ्चालनमा आएको हो । योसँगै भेरी अस्पताल मातहतको कोरोना वार्डमा वेड संख्या बढेर १ सय ६२ पुगेको छ ।

कोभिड–१९ विशेष अस्पतालका संयोजक डाक्टर श्याम सुन्दर यादवका अनुसार जिल्ला समन्वय समितिको ७५ लाख, नेपालगन्ज उपमहानगरपालिकाको ६ लाख २५ हजार, कोहलपुर नगरपालिकाको ३ लाख ७५ हजार, नरैनापुर गाउँपालिकाको २ लाख ७५ हजार, डुडुवा, खजुरा, जानकी, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाको साढे दुई–दुई लाख गरी कुल एक करोडको लागतमा कोेरोना वार्ड स्थापना गरेर सञ्चालनमा ल्याइएको हो ।

एउटै अस्पतालमा सबै वेडमा अक्सिजनसहित सुविधा सम्पन्न यो क्षमताको कोरोना विशेष अस्पताल सञ्चालन भएको सम्भवत नेपालमै पहिलो भएको अस्पतालका संयोजक डाक्टर यादव बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

नवनिर्मित कोभिड–१९ विशेष वार्डको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटनसंगै हस्तान्तरण गरिएकोछ । स्थानीय पालिकाहरुले कोभिड नियन्त्रण, रोकथाम र निदानमा सामुहिक प्रतिबद्धता जनाएसंगै अस्पतालमा बेड थप गरिएको हो ।

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशमशेर राणा, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, आठ वटै पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुको उपस्थितिमा थप गरिएको कोरोना वार्डको उद्घाटन तथा हस्तान्तरण गरिएको थियो ।