कर्मचारी अभावमा इलाका प्रशासनका सेवा पाँच महिनादेखि बन्द


कर्मचारी अभावमा इलाका प्रशासनका सेवा पाँच महिनादेखि बन्द

बैतडी : गएको पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयका सेवाहरु बन्द भएका छन् । इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाहरु बन्द भएका हुन् ।

गत भदौ महिनादेखि कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, ‘ईलाका प्रशासन कार्यालयमा गएको पाँच महिनायता शाखा अधिकृत नहुँदा नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायत सबै काम रोकिएका छन् ।’

एक शाखा अधिकृत, दुई नायब सुब्बा, एक सहलेखापाल, एक सहायक कम्प्युटर अपरेटर र दुईजना कार्यालय सहयोगीको दरबन्दी रहेको इलाका प्रशासन कार्यालयमा अहिले एक नायब सुब्बा र एकजना कार्यालय सहयोगी मात्रै रहेका छन् । दुर्गम क्षेत्रका नागरिकलाई गाउँघरमै सेवा दिने उद्देश्यले स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीका नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र र सिफारिसलगायत कामका लागि फेरि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता भएको छ ।

कर्मचारी नहुँदा इलाका प्रशासनमा उपलब्ध हुने सेवा लिनकै लागि सदरमुकाम पुग्नुपर्दा सेवाग्राहीलाई समस्या भएको अनिरुद्र जोशीले जानकारी दिए । उनले भने, ‘नगरपालिकाभित्रैको कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीवासीले सदरमुकाम धाउनु परेको छ ।’

Kanti Aarogya Hospital Nepalgunj

ईलाका प्रशासन कार्यालयमा कर्मचारीको पदपूर्तिका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको भए पनि अहिलेसम्म कर्मचारी नआएका सहायक प्रजिअ नेगीले बताए ।

उनले भने, ‘जिल्ला प्रशासनमै कर्मचारी अभाव छ, जिल्लाबाट पनि कर्मचारी पठाउन सकिएको छैन ।’ २०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालयमा पटकपटक कर्मचारीको अभावले सेवा प्रभावित हुँदै आएको छ । -रासस