नेपालगन्ज : बाँकेको जमुनाह–हिल्सा दुुतमार्गको प्रारम्भिक अध्ययन पुरा भएको छ । चीनको सरकारी निर्माण कम्पनी चाइना रेलवे इन्जिनियरिङ् कम्पनी (सीआईईसी) को प्राविधिक टोलीले चार महिना लगाएर प्रारम्भिक अध्ययन सकेको हो ।
बाँकेको जमुनाहा हुँदै तिब्बतको ताक्लाकोटसम्म सडक सञ्चालन गर्न चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन थालेको थियो । गत कार्तिक २७ गतेदेखि प्रारम्भिक अध्ययन थालिएको दु्रतमार्गको पहिलो चरणको काम सकिएको छ ।
प्रारम्भिक चरणमा प्रदेश राजधानी वीरेन्द्रनगरदेखि हिल्सासम्मको अध्ययन गरिएको छ । प्रारम्भिक सम्भाव्यता अध्ययनबाट उक्त दु्रुतमार्ग निर्माण गर्न सकिने निष्कर्ष अध्ययन टोलीले निकालेको छ । रेलवे कम्पनीका प्रतिनिधिहरूद्वारा स्थलगत रूपमा गरिएको अध्ययनपछि बनाइएको प्रतिवेदनमा द्रुतमार्ग निर्माण गर्न सकिने छ ।
दु्रतमार्ग निर्माण भए त्रिदेशीय सडक सञ्जाल जोडिनेछ । दक्षिणमा भारत र उत्तरमा चीनसँग सडकमार्ग विस्तार हुनेछ । प्रारम्भिक अध्ययनका क्रममा प्राविधिक टोलीले सुर्खेत–हिल्सा जोड्न चार सय तीन किलोमिटर रहेको प्रतिवेदन तयार पारेको छ ।
उक्त मार्ग निर्माण भएपछि पाँचदेखि १० घण्टामा सुर्खेत–हिल्सा पुग्न सकिने अध्ययन प्रतिवेदनले देखाएको छ । नेपालकै दु्रतमार्ग निर्माण भए उत्तरी मुलुक चीन र दक्षिणमा भारतसँग कर्णाली प्रदेश जोडिने छ । प्रारम्भिक अध्ययनमा सात जनाको प्राविधिक टोली खटिएको थियो । संघीय सरकारले चिनियाँ कम्पनीलाई सर्भे गर्न स्वीकृति दिएपछि कर्णालीवासीको दू्रतमार्ग निर्माण सपनाको ढोका खुलेको हो ।