५५७८ जनाको पीसिआर परीक्षण गर्दा ६५९ संक्रमित थपिए

बेलायतबाट आएका पाँचजनामा कोरोना देखियो


५५७८ जनाको पीसिआर परीक्षण गर्दा ६५९ संक्रमित थपिए

नेपालगन्ज : पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पीसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १९ लाख १५ हजार २ सय ३२ पुगेको छ ।

सोमबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ । हाल ३ सय ६९ जना क्वारेन्टिनमा छन् ।

शनिबार मात्र ७ सय १८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच बेलायतबाट आएका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यद्यपि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको अधिकारीहरूले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का अनुसार अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेका छन् ।

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन बस्न आग्रह गरिएको थियो । यसरी बसेका मध्ये ५ जनालाई लक्षण देखिएपछि परीक्षण गरिएको थियो र उनीहरूको रिपोर्ट पोजेटिभ आएको छ ।

तर, उनीहरुलाई नयाँ प्रजातीको कोरोना भएको भन्न नमिल्ने इडिसिडीका निर्देशक वासुदेव पाण्डेले बताए । उनका अनुसार नयाँ किसिमको कोरोना भाइरस भएको पत्ता लगाउन उनीहरुको जिन सिक्विनिङ गर्नुपर्छ ।

‘जिन सिक्विनिङ नगरी बेलायतबाट आएको आधारमा मात्रै उनीहरुलाई नयाँ प्रकारको कोरोना भाइरस भएको भन्न मिल्दैन’ डाक्टर पाण्डेले भने, ‘तर बेलायतबाट आएकाहरु अथवा उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोनाको लक्षण देखिए भने सचेत रहनुपर्छ ।’

उनीहरुमा देखिएको कोरोना भाइरस नयाँ रुपको भाइरस हो वा होइन भनेर पत्ता लगाउन कोरोना पोजेटिभ आएकाहरुको जीन सिक्वेन्सिङ गरेर थप अध्ययन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।