नेपालगन्ज : बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको ५ मिनेटको अन्तरमा मृत्यु भएकोछ । जिल्ला कोभिड –१९, संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल, नेपालगन्जमा उपचाररत ती दुई कोरोना संक्रमितको ५ मिनेटको फरकमा मृत्यु भएको हो ।
यसरी मृत्यु हुनेमा बाँके र बर्दियाका एक–एक जनाको मृत्यु भएको केन्द्रले जनाएकोछ । बाँकेको कोहलपुर नगरपालिका–२ का ७३ वर्षीय पुरुषको मंगलबार राति १० बजेर २० मिनेटमा मृत्यु भएको थियो । उनको मृत्यु भएको ठिक पाँच मिनेटपछि बर्दियाको ठाकुरबाबाकी ८५ वर्षीया महिलाको मंगलबार राति १० बजेर २५ मिनेटमा मृत्यु भएको हो ।
केन्द्रका अनुसार बाँके कोहलपुरका ७३ वर्षिय पुरुषलाई गत पुस ५ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भर्ना गरिएको थियो । उनको स्वाब परीक्षण गर्दा सोही दिन आएको रिर्पोटमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
मेडिकल कलेज कोहलपुरमै उपचार गराइरहेका ती बृद्धलाई थप उपचकार लागि भन्दै पुस १४ गते राति भेरी अस्पताल नेपालगन्ज ल्याइए पनि स्वास्थ्यमा सुधार नहुदाँ उनको मृत्यु भएको हो ।
यस्तै, बर्दियाको ठाकुरबाबाकी ८५ वर्षीया महिलालाई पुस १२ गते भेरीमा उपचारका लागि ल्याइएको थियो । कोरोना आशंकामा स्वाब परीक्षण गर्दा सोही दिन आएको रिर्पोटमा उनलाई कोरोना पोजेटिभ पाइएको थियो । कोरोना पोजेटिभ पाइएकी ती महिलाको उपचारका क्रममा स्वास्थ्यमा सुधार नभएपछि उनको मृत्यु भएको केन्द्रले जनाएकोछ ।
यसैबीच, सैनिक अस्पतालमा नेपालगन्ज उपमहानगरपालिका–२० राँझाका ६६ वर्षीय पुरुषको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि ती पुरुषको पुस ७ गते भेरी अस्पतालमा स्वाब परीक्षण गरिएको थियो । पुस ८ गते आएको रिपोर्टमा कोरोना पोजेटिभ पाइएको थियो ।
कोरोना पोजेटिभ पाइएका ती पुरुषलाई सोही दिन सैनिक अस्पताल, राँझामा भर्ना गरेर रोगको प्रकृति अनुसार उपचार शुरु गरिएको थियो । तर, विरामीको अवस्थामा सुधार नआएपछि बुधरबार विहान ६ः ३० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनी सैनिक जवानका वुवा रहेको खुलेको छ । उनको मृत्युसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको केन्द्रले जनाएको छ ।
यसअघि मङ्गलबार बिहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत सुर्खेतका ७३ वर्षिय पुरुषको मृत्यु भएको थियो । लेकबेसी –९ सुर्खेतका ७३ वर्षिय पुरुषको हिजो (मङ्गलबार) बिहान ४ः३० बजे उपचारका क्रममा मृत्यु भएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि पुष १२ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भर्ना भएका ती ब्यक्तिको पीसिआर परीक्षण गर्दा पुस १३ गते आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएको थियो । योसंगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ७७ जना संक्रमितको मृत्यु भएकोछ ।