बाँकेमा पहिलोपटक कोरोनाबाट १३ वर्षिय बालकको मृत्यु


बाँकेमा पहिलोपटक कोरोनाबाट १३ वर्षिय बालकको मृत्यु

नेपालगन्ज : १३ वर्षिय बालकसहित बाँकेमा थप तीन जनाको मृत्यु भएकोछ । कोरोना भाइरस संक्रमित तीनैजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार यसरी ज्यान गुमाउनेमा भेरी अस्पताल नेपालगन्जमा एक जना तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुईजना गरी तीन जनाको मृत्यु भएको छ ।

केन्द्रका सूचना अधिकारी तेज ओलीका अनुसार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुमा बाँके, दाङ र कञ्चनपुरका एक–एक जना रहेकाछन् । १३ वर्षिय बालकको मृत्यु भएसंगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने बालक बाँकेमै पहिलो हुन् ।

दाङको घोराही उपमहानगरपालिका–१८ का ती बालकको स्वास्थ्यमा समस्या देखिएपछि पुष १९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा २० गते भाइरस संक्रमण पुष्टि भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

उनलाई कोभिड वार्डमा राखेर उपचार गरिएपनि निमोनिया र मुटु रोगबाट पीडित समेत रहेका ती बालकको उपचारकै क्रममा मङ्गलबार विहान ७ः४५ बजे मृत्यु भएको केन्द्रका सूचना अधिकारी ओलीले जानकारी दिए ।

ओलीका अनुसार मङ्गलबार बिहान ७ः२० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बृद्धको मृत्यु भएको छ ।

महेन्द्रनगर–५ कञ्चनपुरका ६० वर्षीय ती पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या पाइएपछि उनलाई पुष १७ गते अस्पताल भर्ना गरिएको थियो । अस्पतला भर्ना गरेको भोलिपल्ट कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

यसैबीच बाँकेको जानकी गाउँपालिका वडा नम्बर–३ का ६८ वर्षिय एक बृद्धको मृत्यु भएको छ । पुष ९ गते कोभिड आइसोलेसन वार्डमा भर्ना भएका ती पुरुषको मङ्गलबार राती १२ः २५ बजे मृत्यु भएको सूचना अधिकारी ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । भने उपचारका क्रममा बाँके बाहिरका ७९ जना कोरोना संक्रमितको मृत्यु भएको केन्द्रले जनाएकोछ ।