बाँकेका ४ पालिकामा १५ शैयाको आधारभूत अस्पताल निमार्ण गरिदैं

जग्गा व्यवस्थापन गर्न मन्त्रालयको परिपत्र


बाँकेका ४ पालिकामा १५ शैयाको आधारभूत अस्पताल निमार्ण गरिदैं

नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेका ४ वटा स्थानीय तहलाई १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि तोकिएको मापदण्ड बमोजिम जग्गा व्यवस्थापन गरी पठाउन परिपत्र गरेको छ ।

जिल्लाका जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकालाई आधारभूत अस्पताल निर्माणका लागि तोकिएको मापदण्ड बमोजिम जग्गा व्यवस्थापन गरी पठाउन परिपत्र गरेको हो ।

मन्त्रालयले अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्य संस्थाका सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णयबाट छनोट गरी जिल्ला समन्वय समितिको सिफारिस सहित फागुन मसान्तसम्म मन्त्रालय पठाउन समेत बिहीबार गरेको परिपत्रमा उल्लेखछ ।

अस्पतालको स्तरोन्नति हुने स्वास्थ्य संस्था छनोट गरी स्थानीय तहमा अगामी आर्थिक वर्ष २०७८/७९ मा भवन निर्माणको बजेट व्यवस्था गर्ने गरी चालु आवमा नै डिपिआरका लागि लागत सहभागितामा बजेट पठाउने समेत मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार देशभरका २५९ स्थानीय तहलाई ५, १० र १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि तोकिएको मापदण्ड बमोजिम जग्गा व्यवस्थापन गर्न परिपत्र गरेको हो ।

सरकारले चालु आवको नीति तथा कार्यक्रममा भूगोल तथा जनसंख्याको आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ शैयासम्मको आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नति गर्ने घोषणा गरेको छ ।

मन्त्रालयले बाँकेका ४ स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नति गर्ने योजना रहेकोछ ।