नेपालगन्ज : कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट ४२ वर्षिया महिलाको मृत्यु भएकोछ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी लिवाङ–४ रोल्पाकी ४२ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि ती महिलालाई शनिबार मात्रै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो ।
अस्पताल भर्ना गरिएकी ती महिलामा शनिबारमात्रै आएको पीसिआर रिर्पोटमा कोरोना पोजेटिभ पाइएको थियो । कोरोना पोजेटिभ पाइएकी ती महिलाको उपचारका लागि सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दा गर्दै आईतबार विहान साढे तीन बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका सूचना अधिकारी तेज ओलीले जानकारी दिए ।
ओलीका अनुसार आईतबार विहान साढे ६ बजे भेरी अस्पताल नेपालगन्जमा उपचाररत अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । बबई–६ दाङकी ८० वर्षिया ती महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
पुस १० गते नेपालगन्ज मेडिकल कलेजमा भाइरस संक्रमण पुष्टि भएकी ती महिलाको ९ गते नमुना संकलन गरि जाँच गरिएको थियो । कोरोना पुष्टि भएलगत्तै उनलाई १० गते राती थप उपचारका लागि भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि उनको मृत्यु भएको केन्द्रका सूचना अधिकारी ओलीले जानकारी दिए ।
केन्द्रका अनुसार योसहित आईतबार बाँके बाहिरका २ महिलाको मृत्यु भएकोछ । तीन घण्टाको फरकमा मृत्यु भएका दुवै मृतक बाँके जिल्ला बाहिरका हुन् । योसंगै बाँके जिल्लामा उपचारका लागि आएका बाँके बाहिरका ८२ जनाको मृत्यु भएकोछ ।