शव परीक्षण गर्न समस्या


शव परीक्षण गर्न समस्या

बेनी : बेनी अस्पतालले म्याग्दीको सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा पर्ने मल्लाज क्षेत्रको शव परीक्षण गर्न छाडेपछि चिन्ता थपिएको छ । दुर्घटना, विपद् र आत्महत्याका कारण ज्यान गुमाएकोको शव नजिकैको बेनी अस्प्तालले परीक्षण गर्न नमानेपछि कुश्मा लैजाँदा सास्ती, झन्झट र दुःख भएको छ ।

गत बिहीबार म्याग्दी बेनीसँगैको पर्वत बेनीमा बस्ने २३ वर्षीया युवतीले आत्महत्या गरिन् । साँझ करिब ८ बजे पर्वत बेनीबाट बेनी अस्पताल ल्याइएको शव परीक्षणका लागि दुई घण्टासम्म गाडीमै राखियो । अस्पतालका चिकित्सकले बेजिल्लाको शव परीक्षण नगर्ने अडान लिएपछि अन्ततः राति १० बजे गाडी खोजेर कुश्मास्थित पर्वत अस्पतालमा पठाइएको थियो ।

आर्थिकरूपमा बिपन्न ती युवतीका आफन्तहरुले कुश्मामा परीक्षण गराएपछि शुक्रबार वारि बेनीस्थित कालीगण्डकी किनारको घाटमा दाहसंस्कार गरेका थिए ।
पछिल्लो समय सिमाना जोडिएको बेनी अस्पतालले जलजलाको शव परीक्षण गर्न नमानेपछि मृतकका परिवार र आफन्तलाई पीडामाथि पीडा भएको वारि बेनीका दिलीप बरुवालले बताए ।

‘बेनीमै शव परीक्षण गर्दा नजिकै भएकाले सबैलाई सजिलो भएको थियो’, उनले भने, ‘शव बोकेर कुश्मा पुर्याउँदा धेरै सास्ती र दुःख भएको छ ।’ शव बोक्ने गाडी नपाउने र बढी भाडा तिर्नुपर्ने समस्या छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

जलजला गाउँपालिकाको १, २, ३, ४, ५ नम्बर वडामा पर्ने बाँसखर्क, मल्लाज र लेकफाँटका बासिन्दालाई कुश्मास्थित पर्वत अस्पतालभन्दा म्याग्दीको बेनी अस्पताल नजिक पर्छ । फरक जिल्ला भए पनि मल्लाज र बेनीको व्यापारिक, आर्थिक, सामाजिक सम्बन्ध एकै जिल्ला सरहको छ ।

वार्षिक १० वटाको हाराहारीमा मल्लाज क्षेत्रका शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याउने गरेका छन् । दुर्घटना, विपद् र आत्महत्याका कारण ज्यान गएकाको कानूनी प्रक्रिया पूरा गर्नका लागि शवको परीक्षण गर्नुपर्ने नियम छ ।

शवको परीक्षण जस्तो मानवीय संवेदना जोडिएको विषयमा बेनी अस्पतालले बेजिल्लाको बहानामा विभेद गर्न थालेको जलजलाका बासिन्दाहरुले गुनासो गरेका छन् ।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अव्यावहारिक कानूनी प्रक्रियाका कारण बेजिल्लाको शव परीक्षण गर्न चिकित्सक पछि हटेको बताए । ‘सजिलो र छिटो सुविधा होस् भनेर बेजिल्ला भए पनि मल्लाज क्षेत्रको शव बेनी अस्पतालमै परीक्षण हुन्थ्यो’, उनले भने, ‘बेजिल्लाको अदालतमा वयान दिन जान झन्झट हुने र भ्रमण खर्च नपाउने भएकाले पछि हटेका हुन् ।’

जलजला गाउँकार्यपालिकाका प्रवक्तासमेत रहेका वडा नं ३ का अध्यक्ष देविन्द्र भण्डारी (रवि)ले बेनी अस्पतालले शव परीक्षण गर्न नमानेपछि नागरिकले दुःख र सास्ती पाएको गुनासो बढेको बताए । जिल्ला प्रशासन कार्यालयमार्फत समस्या समाधान गर्न पहल गरिएको उनले बताए । -रासस