अटो क्लेभद्वारा भेरी अस्पतालको फोहोर ब्यवस्थापनमा सहजता


अटो क्लेभद्वारा भेरी अस्पतालको फोहोर ब्यवस्थापनमा सहजता

३ माघ, नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जबाट ठूलो परिमाणमा निस्कने स्वास्थ्यजन्य फोहोरलाई सहज तरिकाले व्यवस्थापन गरिने भएको छ । सो अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहोर व्यवस्थापन गर्न समस्या हुँदै आएकोले उक्त फोहरको अहिलेसम्म उचित व्यवस्थापना हुन सकेको थिएन ।

अर्कोतिर सो फोहोरबाट सर्वसाधारणको स्वास्थ्यमा गम्भीर समस्या हुने डर रहेकोमा चिन्ता व्यक्त गरिँदै आइएको थियो ।

स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि भेरी अस्पताललाई अटो क्लेभको व्यवस्था भएकोले आउँदा दिनमा अस्पतालको स्वास्थ्यजन्य फोहोर सहजै व्यवस्थित हुने अस्पतालले जनाएको छ ।

जर्मन सहयोग नियोग (जीआइजेड)द्वारा २२७ लिटर र १०० लिटर गरी दुई थरीका दुईवटा क्लेभ अस्पतालका प्रमुख डाक्टर प्रकाश थापालाई हस्तान्तरण गरिएको छ । यसका साथै अस्पताललाई एउटा कम्प्रेसरसमेत उपलब्ध गराइएको छ । फोहोर व्यवस्थापनका लागि जीआइजेडले अस्पताललाई दुई थान अटो क्लेभ सहयोग प्रदान गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापाले अब अस्पतालबाट ठूलो परिमाणमा निस्कने फोहोर व्यवस्थापन गर्न कुनै समस्या नहुने बताए ।

२९ लाख रुपैयाँ बराबरको उक्त सामग्री सहयोग भएको बताइएको छ । अटो क्लेभको सहायताले सिरिन्जलगायत अन्य स्वास्थ्यजन्य फोहोरलाई सहजै निर्मलीकरण गरिनेछ ।