नेपालकै पहिलो कान अस्पतालमा विरामी घटे


नेपालकै पहिलो कान अस्पतालमा विरामी घटे

नेपालगन्ज ८ माघ : नेपालगन्जको फुल्टेक्रा स्थित फत्तेबाल आँखा अस्पताल र ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रमा विरामीको संख्या ह्वात्तै घटेकोछ । कोरोना भाइरस संक्रमणका कारण सिर्जित असहज परिस्थितीका कारण यतिबेला उक्त अस्पतालमा विरामीको संख्या घटेको हो ।

विशेषगरि कोरोना भाइरस संक्रमणका कारण नेपाल–भारत सीमानाका लामो समयदेखि बन्द गरिएकोछ । आँखा र कानको सुलभ एवम गुणस्तरीय उपचारमा ख्याती कमाएको यी दुई अस्पतालमा यतिबेला विरामीको उपस्थिती पहिले जस्तो छैन ।

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालको पहिलो कानको गुणस्तरीय उपचार गर्ने अस्पताल हो । भने फत्तेबाल आँखा अस्पताल देशकै अग्रणी र स्तरीय आँखा उपचार हुने अस्पताल हो । पश्चिम नेपालकै पुरानो यस आँखा अस्पतालमा आँखा सम्बन्धि सम्पूर्ण उपचार हुदैँ आएकोछ ।

नेपालका विभिन्न भूभाग तथा सीमावर्ती भारतीय क्षेत्रबाट आँखा तथा कानको उपचार गर्न आउने विरामी कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै विरामी आउन छाडेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्जको फुल्टेक्रास्थित ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रका निर्देशक पुरन चौधरीका अनुसार कोरोना भाइरस संक्रमणका कारण बन्द भएको सीमानाका कै कारण पनि यतिबेला सहजरुपमा भारतीय विरामी आउन छाडेपछि अस्पताल सञ्चालनमा समस्या देखिएकोछ ।

उनका अनुसार स्याहार केन्द्रमा भारतका ३०–३५ प्रतिशत विरामी उपचारका लागि आउने गरेका थिए । विरामीको संख्या घटेपछि कर्मचारीलाई पारिश्रमिक खुवाउन नसकिएको बताउँदै उनले कोभिडका कारण अप्रेशनमा समेत कमी आएको बताए ।

‘कोभिडका कारण नेपाल–भारत सीमानाका औपचारिक रुपमा बन्द छ । भारतीय विरामी आउन नपाउँदा आयश्रोत घटेको हो,’ उनले भने, ‘कर्मचारीलाई ७० प्रतिशत तलब दिएर काम लगाइरहेका छौँ ।’

यस्तै नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा पनि विरामीको संख्या ह्वात्तै घटेको छ । यस अस्पतालमा भारतको विभिन्न जिल्लाका आँखाका विरामी उपचारका लागि आउने गरेका छन् ।

आँखा अस्पतालमा आउने ९० प्रतिशत विरामी भारतीय भएको अस्पतालका लेखा अधिकृत जीतबहादुर चौधरी बताउँछन् । उनका अनुसार भारतीय विरामीले भरिभराउ रहने आँखा अस्पताल यतिबेला सीमानाका बन्द भएकै कारण यस्तो भएको हो ।

नाका बन्दका कारण भारतीयहरु आउन नपाउँदा अस्पताल सुनसान जस्तै रहेको उनी बताउँछन । ‘अहिले आँखाको अप्रेशन हुने समय हो । यतिबेला विरामीले बेड र अप्रेशनका लागि पालो कुर्नुपर्ने हुन्थ्यो, तर यस वर्ष विरामीको संख्या एकदमै कम छ,’ उनले भने, विरामी नआउँदा बेड खाली छन् ।’

कान स्याहार केन्द्र र आँखा अस्पताल दुवै समुदायमा आधारित भएकाले उपचारमा न्यून शुल्क लिने गरिन्छ । शुल्क कम भएपनि गुणस्तरीय उपचार हुने यी अस्पतालमा विरामीको संख्या घटिरहेकोछ । स्याहार केन्द्र र आँखा अस्पतालले एक–एक सय रुपैँयामा ओपीडी सेवा दिँदै आएका छन् ।

कानको अप्रेशन बापत कम्तीमा दुई हजार र बढीमा १८ हजार रुपैँया शुल्क लिने गरेको छ । नेपालगन्जका निजी अस्पतालमा ५० हजार रुपैँया खर्च लाग्छ, तर, जतिसुकै जटिल प्रकृतिको अप्रेशन भए पनि यहाँ १८ हजार रुपैँयाभन्दा बढि शुल्क लाग्दैन,’ निर्देशक पुरनले बताए ।

दुवै अस्पतालको आफ्नै भवन छ । सन् २०१६ देखि आफ्नै भवनबाट सेवा दिँदै आएको स्याहार केन्द्रले चार वर्षमा वार्षिक सरदर ३८ हजार विरामीको उपचार गर्दै आएको छ ।

चार वर्षमा एक लाख ५० हजार भन्दा बढि कानका विरामीलाई सेवा दिइसकेको उनले बताए । चार वर्षको अवधिमा तीन हजार सात सय ७५ जनाको कानको अप्रेशन गरिसकेको छ ।

वार्षिक नौ सय जनाको कानको अप्रेशन हुन्छ । करिब दुई सय जनाले श्रवण यन्त्र खरिद गरि लैजाने गरेको केन्द्रको तथ्यांकले देखाएकोछ ।

यता फत्तेबाल आँखा अस्पताले वार्षिक एक लाखबढिको आँखा उपचार गर्ने र १० हजार बढिको शल्यक्रिया गर्दै आएकोछ । नेत्र विशेषज्ञसहितको टिमले सेवा प्रदान गरिरहेको आँखा अस्पतालमा २०४३ सालमा स्थापना गरि सेवा दिदै आएको हो ।

नेपालगन्जबाट ग्रामीण भेगका विरामीलाई सेवा प्रवाह गर्न कठिनाई भएपछि दैलेख, कैलाली र बर्दियामा शाखा स्थापना गरिको छ । स्थानीय तहसँग समन्वय गरि दाङ र सुर्खेतमा शाखा स्थापना गर्ने तयारी समेत रहेकोछ ।