नेपालगन्ज ८ माघ : देशभर ३३६ कोरोना संक्रमित थपिदाँ कर्णाली प्रदेशको हुम्ला जिल्ला बिहीबारबाट कोरोना संक्रमण मुक्त भएको छ ।
यसअघि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका संक्रमितको एन्टिजिन किटबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना संक्रमण मुक्त जिल्ला भएको हो ।
सिटिजन्स बैंकका एकजना महिला कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउँदा हुम्ला जिल्ला कोरोनामुक्त बनेको अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन ।
लामो समय कोरोना संक्रमणका हिसावले ग्रीन जोनका रुपमा रहेको हुम्ला जिल्लामा गत असोज ३ गतेयता जिल्ला भरि कुल ९१ जनामा कोरोना संक्रमण देखिएको थियो । ती सबै निको भएर घर फर्किएपछि हाल संक्रमित संख्या शून्यमा झरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थपिएका कोरोना संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । जसमध्ये ३ हजार ७९९ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३० जनाको पीसिआर परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण गराउनेको संख्या २० लाख ३१ हजार ७५६ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार बिहीबार देशभर थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ९ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ । हाल १७२ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २२६ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर हाल १८४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । जसमध्ये १५० जना आइसियु र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा २ जना आइसियु रहदाँ कोही पनि संक्रमित भेन्टिलेटरमा छैनन् । भने प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी बागमती प्रदेशमा ५० जना आइसियु र २२ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६९ जना आइसियु र ७ जना भेन्टिलेटरमा तथा लुम्बिनी प्रदेशमा २७ जना आइसियु र ५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै कर्णाली प्रदेशमा एक जना आइसियुमा रहदाँ कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् । भने सुदूरपश्चिम प्रदेशमा एकजना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ ।