बाँकेका १८०५६ जनालाई कोरोना खोप लगाइने


बाँकेका १८०५६ जनालाई कोरोना खोप लगाइने

नेपालगन्ज ९ माघः नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएको एक वर्ष पुगेकोछ । कोरोना भाइरस संक्रमण पुष्टि भएकै दिन कोरोना भाइरस विरुद्वको खोप नेपाल आइपुगेको छ ।

नेपाललाई भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको १० लाख कोरोना विरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्यान्ह १२ बजे एयर इन्डियाको विमानबाट ल्याइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्लामा एकसाथै खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार पहिलो चरणमा आएको खोप कोरोना भाइरस संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सफाईकर्मी र सुरक्षाकर्मीलगायतलाई लगाउने योजना रहेको छ । यसका अलावा नेपाललाई थप ४० लाख डोज भ्याक्सिन आवश्यक छ ।

अनुदानबाहेक थप आवश्यक खोप चाँडै पारदर्शी रुपमा खरीद गरी न्यायपूर्ण रुपमा खोप अभियान सञ्चालन गरिने मन्त्रालयको तयारी छ ।

Kids Festival 2022
kanti aarogya hospital

नेपाल सरकारले कूल जनसख्ंयाको ७२ प्रतिशतलाई खोप लगाउने योजना बनाएको छ । जसको पहिलो चरणमा ३ प्रतिशत जनसंख्या अर्थात ९ लाख ११ हजार ३४२ जनालाई खोप लगाइने बताइएको छ ।

यो हिसाबमा बाँकेका १८०५६ जनालाई कोराना भाइरस विरुद्धको खोप लगाइनेछ । जसका लागि ४२,६१३ डोज छुट्याइएकोछ । यस्तै बर्दियाका १४३३० जनाका लागि ३३८१९ डोज खोप छुट्याइएकोछ ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशका नवलपरासी(पश्चिम) का ११२०१ जाका लागि २६४३५, रुपेन्देहीका ३१७६८ जनाका लागि ७४९७३ डोज, कपिलवस्तुका ११९४० जनताका लागि ४९०५९ डोज, पाल्पाका ७४६६ जनताका लागि १७६२० डोज तथा अर्घाखाँचीका ६०६८ जनताका लागि १४३२२ डोज छुट्याइएकोछ ।

यस्तै लुम्बिनी प्रदेशका गुल्मीका ७७१८ जनताका लागि १८२१४ डोज, रुकुम पूर्वीका १७४४ जताका लागि ४११५ डोज, रोल्पाका ७११७ जनताका लागि १६७९७ तथा दाङ जिल्लाका १९३३७ जनताका लागि ४५६३५ डोज छुट्याइएकोछ ।

यसरी मन्त्रालयले पहिलो चरणमा अनुदान स्वरुप आएको १० लाख डोज भ्याक्सिनले करिब पाँच लाख जनसंख्यालाई पुग्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

त्यसबाहेक नेपाललाई कोभिड भ्याक्सिनको सहजीकरण र समान वितरणका लागि बनेको अलायन्स कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशत खोप निःशुल्क उपलब्ध हुनेछ । कोभ्याक्सले आगामी मार्च अप्रिलसम्ममा नेपाललाई खोप उपलब्ध गराउने पत्र पठाइसकेको छ । बाँकी आवश्यक खोप भने नेपालले खरीद गर्नुपर्नेछ ।