नेपालगन्ज ९ माघ : नेपाललाई भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको १० लाख कोरोना विरुद्धको खोप यतिबेला टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्यान्ह १२ बजे एयर इन्डियाको विमानबाट ल्याइएको उक्त खोप सातै प्रदेशमा ढुवानी गरिदैँछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्लामा एकसाथै खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ ।
मन्त्रालयले कुन प्रदेशमा कति खोप पठाउने भन्ने निर्णय गरिसकेको छ रेफ्रिजेरेटर भ्यानमार्फत हरेक प्रदेशमा पठाइने छ । यसरी प्रदेशमा पठाइएको उक्त खोप प्रदेशबाट सम्बन्धित जिल्लामा पठाइने छ ।
मन्त्रालयका अनुसार एक सातामा हरेक जिल्लाका खोप कार्यकर्ता र अन्य स्वास्थ्यकर्मीलाई भर्चुअल तालिम दिने, ढुवानी व्यवस्थापन गर्ने र कसरी खोप कार्यक्रम सञ्चालन गर्ने लगायतका काम भइरहेको छ ।
यसअघि हरेक जिल्लामा पहिलो ३ प्रतिशत खोप पाउने व्यक्तिको सूची मन्त्रालयले तयार गरिसकेको छ । त्यसमा पनि खोपको उपलब्धता अनुसार डेढ प्रतिशत जनसख्ंयालाई पुग्ने गरी खोप हरेक प्रदेशलाई पठाइनेछ ।
कोरोना खोप एक जनालाई दुई डोज लगाउनु पर्ने हुन्छ । यसका साथै खोप लगाउने क्रममा १० प्रतिशत खोप खेर जानसक्ने मन्त्रालयले अनुमान गरेकोछ ।