नेपालगन्ज ९ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप सातै प्रदेश पठाउँदै छ । यसरी पठाइने खोप रेफ्रिजेटर भ्यान मार्फत कोल्ड स्टोरमा भण्डारण गरिनेछ । त्यसरी भण्डारण गरिएको खोप ७७ वटै जिल्लामा एकैपटक अभियान सञ्चालन गरि खोप लगाउनेछ ।
नेपाललाई भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको १० लाख कोरोना विरुद्धको खोप यतिबेला टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्यान्ह १२ बजे एयर इन्डियाको विमानबाट ल्याइएको उक्त खोप सातै प्रदेशमा ढुवानी गरिन लागेको हो ।
मन्त्रालयले कुन प्रदेशमा कति खोप पठाउने भन्ने निर्णय गरिसकेको छ । रेफ्रिजेरेटर भ्यानमार्फत हरेक प्रदेशमा पठाइनेछ । यसरी प्रदेशमा पठाइएको उक्त खोप प्रदेशबाट सम्बन्धित जिल्लामा पठाइने छ ।
मन्त्रालयका अनुसार एक सातामा हरेक जिल्लाका खोप कार्यकर्ता र अन्य स्वास्थ्यकर्मीलाई भर्चुअल तालिम दिने, ढुवानी व्यवस्थापन गर्ने र कसरी खोप कार्यक्रम सञ्चालन गर्ने लगायतका काम भइरहेको छ ।
यता व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले केन्द्रीय भ्याक्सिन स्टोरमा रहेका ९ वटा कोल्ड रुममध्ये २ वटा रुममा कोभिड भ्याक्सिन भण्डारण गरिएको जानकारी दिए ।
उनका अनुसार २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्नका लागि ७ हजार ५०० र ३ हजार ७५० लिटर भण्डारण क्षमता भएको कोल्ड रुम तयारी अवस्था राखिएको थियो । उक्त कोल्ड रुममा एउटामा २८ लाख ७३ हजार ५६० डोज र अर्कोमा १३ लाख ४१ हजार डोज भ्याक्सिन भण्डारण क्षमता रहेको छ ।
मन्त्रालयले पठाउने भ्याक्सिन नेपालगन्जको कोल्ड स्टोरमा समेत भण्डारण गरिनेछ । नेपालगन्ज र सुर्खेत गरि ३ हजार ७५० लिटर क्षमता भएको कोल्ड रुम तयार गरिएको छ । जहाँ १४ लाख ३६ हजार ७०० डोज भ्याक्सिन भण्डारण क्षमता रहेको बताइएको छ ।
यस्तै विराटनगरमा रहेको ३ वटा कोल्ड रुममध्ये एउटा कोल्ड रुम कोभिड भ्याक्सिनका लागि छुट्याइएको छ । उक्त कोल्ड रुममा २ हजार २५० लिटर क्षमता रहेको छ । जसमा ८ लाख ६२ हजार डोज भ्याक्सिन भण्डारण गर्ने क्षमता रहेको छ ।
व्यवस्थापन महाशाखाका अनुसार पथलैया, बारामा रहेको भ्याक्सिन स्टोरमा रहेका ३ वटै भ्याक्सिन स्टोरमा कोभिड भ्याक्सिन स्टोर गरिनेछ । तीनमध्ये २ वटा कोल्ड रुममा ३ हजार ७५० लिटर भण्डारण क्षमता रहेको छ ।
त्यहाँ प्रति रुममा १४ लाख ३६ हजार ७०० डोज भण्डारण क्षमता छ । भने ७ हजार ५०० लिटर क्षमता भएको तेस्रो रुममा २८ लाख ७३ हजार ५०० डोज भ्याक्सिन भण्डारण क्षमता छ । त्यहाँबाट विराटनगर, हेटौंडा र प्रदेश २ लाई समेट्ने बताइएको छ ।
पथलैयामा रहेको कोल्ड रुम बिग्रिएर सञ्चालनमा आएको थिएन । केही दिनअघि काठमाडौैंबाट पठाइएका प्राविधिकहरुले उक्त स्टोर मर्मत गरिसकेको छ ।
यसैगरि पोखरा, बुटवल र धनगढीमा एउटा कोल्ड रुम कोभिड भ्याक्सिनका लागि छुट्याइएको छ । २ हजार २५० लिटर क्षमता भएको उक्त रुममा ८ लाख ६२ हजार डोज भ्याक्सिन भण्डारण गर्न मिल्छ ।
गतवर्ष माघ ९ गते नेपालमा चीनको वुहानबाट आएका एक युवामा पहिलोपटक कोरोना भाइरस पुष्टि भएको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणबारे माघ १० गते पत्रकार सम्मेलनमार्फत उक्त कुराको जानकारी गराएको थियो ।