नेपालगन्ज ९ माघ : कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप ७ जनाको मृत्यु भएकोछ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९८६ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार देशभर थप ३ सय २ जना ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार ६ सय १४ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा ३ हजार ५ सय ४५ जनाको पीसिआर परीक्षण गर्दा ३ सय २ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख ३५ हजार ३ सय १ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल एक सय ५८ जना क्वारेन्टिनमा रहेकाछन । गत २४ घण्टामा ४ सय ८० जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभर हाल १ सय ८५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । एक सय ५४ जना आइसियु र ३१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा २ जना संक्रमित मात्र आइसियुमा छन् । कुनै पनि संक्रमित यहाँ भेन्टिलेटरमा छैनन् । प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशमा ५३ जना आइसियु र १९ जना भेन्टिलेटरमा, गण्डकीमा ६९ जना आइसियु र ७ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २७ जना आइसियु र ५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् । सुदूरपश्चिम प्रदेशमा २ जना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ ।