कोरोना विरुद्धको खोप नेपालगन्ज आयो


कोरोना विरुद्धको खोप नेपालगन्ज आयो

नेपालगन्ज १२ माघ : कोरोना भाइरस विरुद्धको खोप नेपालगन्ज आइपुगेकोछ । स्वास्थ्य सेवा विभागले कर्णाली प्रदेशका लागि चाहिने कोरोनाविरुद्धको खोप नेपालगन्ज ल्याएको हो । यो खोप बाँके जिल्लाका लागि भने ल्याइएको होइन ।

कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा नेपालगन्जमा रहेकाले कर्णालीका लागि चाहिने खोप नेपालगन्ज ल्याइएको हो । स्वास्थ्य सेवा विभागका खोप सुपरभाइजर कृष्ण सुवेदीको टोलीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि चाहिने खोप बोकेर काठमाण्डौंबाट सोमबार दिउँसो नेपालगन्ज आइपुगेको छ ।

खोप सुपरभाइजर सुवेदीले लुम्बिनीका लागि चाहिने ८ हजार ८ सय भाइल बुटवलमा झारेपछि कर्णालीका लागि छुट्याइएको दुई हजार ६ सय भाइल नेपालगन्ज ल्याएको बताए ।

कर्णालीका लागि चाहिने खोप नेपालगन्जमा झारेर सुवेदीको टोली सुदूरपश्चिमतर्फ लागेको छ । सुदूरपश्चिममा तीन हजार ६ सय भाइल खोप पठाइएको छ । खरिद तथा आपूर्ति शाखा, कर्णाली प्रदेश हाल नेपालगन्जका खोप अधिकृत देवीराम पौडेलले कर्णालीका लागि नेपालगन्जमा आइपुगेका खोपलाई मङ्गलबार त्यसतर्फ पठाइने बताए ।
भारत सरकारले अनुदान स्वरुप नेपाललाई दिएको १० लाख डोज कोरोना विरुद्धको उक्त खोप माघ ९ गते नेपाल आइपुगेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

सरकारले कोरोना भाइरस विरुद्धको खोप पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकाहरूलाई लगाउने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी माघ १४ गते खोप अभियानको सुभारम्भ गर्ने भएका छन् । बिहान १० बजे भर्चुअल रुपमा खोप अभियानको उद्घाटन गर्ने मन्त्रालयले जनाएको छ । सात वटै प्रदेशमा एकै दिन खोप अभियान सुरु गर्ने सरकारको तयारी गरेकोछ ।

यसैबीच, सरकारले कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने तयारी गरेकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गर्दै खोपको पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने भएको हो ।

यसअघि मन्त्रालयले खोपको व्यवस्थापनका लागि सात वटै प्रदेशमा संयोजक तोकेको थियो । भारत सरकारले नेपाललाई बिहीबार अनुदान सहयोग स्वरुप १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । यो खोप २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न मिल्ने भएकाले प्राविधिक सुरक्षाका लागि नेपालमा सहज रहेको समेत बताइएको छ ।

कोरोना खोप एक जनालाई दुई डोज लगाउनुपर्ने हुन्छ । साथै खोप लगाउने क्रममा १० प्रतिशत खोप खेर जानसक्ने समेत बताइएको छ । राष्ट्रिय खोप सल्लाहकार समितिले पहिलो खोप लगाएका व्यक्तिलाई चार सातापछि दोस्रो डोज खोप दिने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको छ ।

यता कोभ्याक्स फ्यासिलिटीले दिने खोप भने चैत–वैशाखसम्म आइपुग्ने बताइएको छ । यसरी हेर्दा ४ हप्ता भित्र खोप लगाएका ब्यक्ति पुनः अर्को डोज लगाउन पाउने छैनन् । अर्थात राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस गरेको समय अवधिभित्र अर्को डोज पाउन सकिने छैन ।

गत साता स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै आगामी अप्रिलभित्रमा खोप पठाउने जानकारी दिएको मन्त्रालयले बताएको छ । यद्यपि आगामी अप्रिलसम्म खोप पठाउने जानकारी कोभ्याक्सले मन्त्रालयमा पत्रसहित दिए पनि कुन कम्पनीले उत्पादन गरेको खोप पठाउने भन्नेबारे पत्रमा नखुलाइएको मन्त्रालय बताउँछ ।