प्रदेश २ का आठ जिल्लामा एकैसाथ कोरोना विरुद्धको खोप अभियान


प्रदेश २ का आठ जिल्लामा एकैसाथ कोरोना विरुद्धको खोप अभियान

जनकपुर १२ माघ : प्रदेश नम्बर २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोना विरुद्धको खोप अभियान शुरु गर्ने निर्णय भएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ ।

प्रदेश नम्बर– २ मा खोप अभियान सञ्चालनका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु माघ १३ गतेसम्म सबै जिल्लास्थित स्टोरमा पु¥याइने स्वास्थ्य निर्देशक विजय झाले बताए ।

पहिलो चरणमा कोरोना महामारीविरुद्ध अग्र मोर्चामा खटिरहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना छ ।

खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जस्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट शुभारम्भ गर्ने स्वास्थ्य निर्देशक झाले जानकारी दिए । -रासस