डुडुवा गाउँपालिका बन्यो पहिलो ‘पूर्णखोप’ गाउँपालिका


डुडुवा गाउँपालिका बन्यो पहिलो ‘पूर्णखोप’ गाउँपालिका

डुडुवा (बाँके) १३ माघ : बाँके जिल्लामै पहिलोपटक डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना भएको पालिका बनेकोछ ।

पालिकाभित्र रहेका सम्पूर्ण बालबालिकाले सबै किसिमका खोपहरु लगाएपछि पालिकालाई जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार डुडुवा पहिला नै पूर्ण खोप गाउँपालिका घोषणा भएपनि दिगोपना नभएकाले आजदेखि जिल्लाको पहिलो पालिकाको रुपमा दिगोपना भएको हो ।गाउँपालिकामा मङ्गलबार एक कार्यक्रमकाविच गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले पूर्णखोप सुनिश्चितता तथा दीगोपनाको घोषणा गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनैपनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुन भनेर विशेष अभियानमुलक कार्यक्रम सञ्चालन गरेको बताए ।

उनले निःशुल्क औषधी उपचार, प्रयोगशाला जाँच, एम्बुलेन्स सेवा, लगायतका स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको भन्दै सेवाबाट बञ्चित भएका नागरिकलाई समेत सेवा उपलब्ध गराएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएर पालिकाले काम गरिरहेको भन्दै स्वास्थ्यका क्षेत्रमा कुनै पनि कमि कमजोरी नहुने गरी र सेवाग्राहीलाई सहज तरिकाले सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिए ।

जन्मदेखि १५ महिनासम्मका १ हजार ४ सय ४१ जना बालबालिकाले नियमित रुपमा सबै प्रकारका खोपहरु प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख बुढाले बताए ।

गाउँपालिकाको वडा नम्बर १ देखि ६ वडासम्मका १६ देखि २३ महिनाका जम्मा ७ सय ५१ जना बालबालिका नियमित खोप लिनबाट छुटेका थिए । ती बालबालिकाहरुलाई पनि घरदैलो गरेर खोप लगाएपछि पालिकाभित्र रहेका उमेर पुगेका सबै बालबालिकाले खोप लिएका छन् ।

जिल्लाकै पहिलो पूर्णखोप पालिका भएपछि पूर्ण खोप जिल्ला समितिले दीगोपनाको प्रमाणपत्र प्रदान गरेको छ । स्वास्थ्य कार्यालय बाँकेका कोल्ड चैन निरीक्षक जनक गिरीले उक्त प्रमाणपत्र पालिका प्रमुख चौधरीलाई हस्तान्तरण गरेका थिए । घोषणा कार्यक्रममा कार्यपालिका सदस्य लिलावति यादव, ढोडे पासी, सुष्मा यादव, सदस्य नेतराम मौर्य लगायतको उपस्थिती रहेको थियो ।

आगामी फागुन ३० गतेभित्र बाँके जिल्लालाई पूर्ण खोप तथा दिगोपना घोषणा गरिसक्नु पर्ने योजना छ । फागुन १५ गतेभित्र जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप तथा दीगोपना घोषणा हुने स्वास्थ्य कार्यलय बाँकेका खोप फोकल पसर्न भेषराज शर्माले बताए ।

उनका अनुसार ३ वटा पालिका पूर्ण खोप र दीगोपना दुबै घोषणा हुन बाँकी छन् भने ४ वटा पालिका खोपको दीगोपना मात्र घोषणा हुन बाँकी रहेका छन् ।