कुन जिल्लाले कति डोज खोप पाए ?
नेपालगन्ज १४ माघ : सरकारले देशैभरी एकसाथ कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु गरेकोछ । कोरोना विरुद्धको खोप अभियान यतिबेला देशभर चलिरहेकोछ ।
सरकारले कोरोना भाइरस विरुद्ध सञ्चालन गरेको खोप अभियान लुम्बिनी प्रदेशमा पनि शुरु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अभियानको सुरूवात गरे ।
लुम्बिनी प्रदेशमा पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेण्डेण्ट डाक्टर राजेन्द्र खनालले लगाएका छन् । खोप अभियान अन्र्तगत उनले खोप लगाएसंगै खोप अभियानको औपचारिकता शुरु भएको हो । यतिबेला अस्पतालका थप १४ जनाभन्दा बढी स्वास्थ्यकर्मीले खोप लगाउँने क्रममा रहेकाछन् ।
लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाका लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डाक्टर पुष्पराज पौडेलले बताए ।
उनका अनुसार त्यसमध्ये सबै भन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ । भने बाँकेको लागि १७ हजार ९० डोज उपलब्ध गराइएकोछ ।
त्यसैगरी दाङमा ६ हजार ५ सय ९०, कपिलबस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोप पठाइने छ ।
यस्तै नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुमपूर्वमा २ हजार ४०, गुल्मी ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० र रोल्पामा २ हजार ४ सय २० डोज कोरोना विरुद्धको खोप पठाउने तयारी गरिएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका केही जिल्लामा केही ढिलो गरि खोप शुरु भएकोछ ।