नरैनापुर (बाँके) १४ माघः नरैनापुर गाउँपालिका वडा नम्बर– १ कट्कुइँयामा निर्मित प्रसुति गृहको उद्घाटन गरिएको छ ।
कट्कुइँया स्वास्थ्य चौकी भवन परिसरमा आड्रा नेपालको प्राविधिक र इन्रुडेक कोहलपुरको आर्थिक सहयोगमा निर्माण भएको प्रसुति भवनको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले उद्घाटन गरे ।
२१ लाख ११ हजार १ सय ३३ रुपैयाँ लागतमा निर्मित प्रसुति भवनको उद्घाटन गर्दै अध्यक्ष शाहले बर्थिङ सेन्टरले सुरक्षितरुपमा सुत्केरी गराउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा बोल्दै आड्रा नेपालका स्वास्थ्य क्षेत्र टिम लिडर डाक्टर घनश्याम भट्टले देशभर ६० ठाउँमा यस्ता बर्थिङ सेन्टर निर्माण गरेको जानकारी दिए ।
आड्रा जापानकी युका ओनिसी, इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले प्रसुति भवनको सही सदुपयोग गर्दै दिगोरुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार शाहले स्वागत मन्तव्य व्यक्त गरेका थिए । नवजात शिशु तथा बालसुधार परियोजना अन्तरगत प्रसुति भवनको निर्माण गरिएको थियो ।