नेपालगन्ज १४ माघ : बाँकेमा पनि कोभिड विरुद्धको खोप अभियान शुरु भएकोछ । भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेण्ड डाक्टर प्रकाश थापाले कोरोना विरुद्धको पहिलो खोप लगाउँदै बाँके जिल्लामा खोपको शुभराम्भ भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा आयोजित खोप शुभराम्भ कार्यक्रममा भेरी अस्पतालका डाक्टर थापाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
कोरोना विरुद्धको खोप अभियान अन्तरगत भेरी अस्पतालमा कार्यरत १२० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । खोप लिन बाँकी रहेका भेरी अस्पतालका कर्मचारीले आज बिहीबार लगाउनेछन् ।
भेरी अस्पतालमा स्थायी, अस्थायी, करार, ज्यालादारी लगायत गरि चार सयको हाराहारीमा चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कर्मचारी, सुरक्षा गार्ड लगायत कार्यरत छन् । खोप अभियान अन्तरगत पहिलो खोप भेरी अस्पतालका प्रमुख मेडिकल सुरपरिटेण्डेण्ट डाक्टर प्रकाशबहादुर थापाले लगाए ।
खोप अभियानका पहिलो दिन भएकोले कोरोना विरुद्धको खोप लगाउनेको संख्या कम देखिएको डाक्टर थापाले बताए । उनले बुधवार ढिलागरि सुरु भएकोले पनि खोप लगाउनेको संख्या थोरै देखिएको बताए । चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको समय नमिलेर बुधवार खोप लगाउन छुटेको उनले दावी गरे ।
उनले भेरी अस्पतालमा कार्यरत सवैले खोप लगाउने बताए । लगाउन त सबैले लगाउँछन् । ‘कोही पहिलो दिन भएर डराएका पनि होलान । कोही रातीको ड्यूटी सकेर घर गइसकेका थिए होला । कसैको बेलुकी ड्यूटी हुन्छ । समय मिलाएर सवैले कोरोना विरुद्धको खोप लगाउने छन्,’ डाक्टर थापाले भने ।
यस्तै अभियान अन्र्तगत बिहीवार बाँकेको नरैनापुर, डुडुवा गाउँपालिका र नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीलाई खोप लगाइदै छ । बिहीबार सात सय ५० जनालाई खोप लगाउने योजना छ ।