नेपालगन्ज १४ माघ : नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर शुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन शुरु गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान शुरु गरेका हुन् । अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वाचन गरेर सुनाइएको थियो ।
बुधबार १२ हजार व्यक्तिले खोप लगाउने तयारी भएपनि कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत पहिलो दिन देशभरका ९ हजार बढीले खोप लगाएका छन् ।
सात प्रदेशका ६४ जिल्लाका ९३ खोप केन्द्रहरुबाट एकैपटक सुरु गरिएको खोप अभियान अन्र्तगत ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा एक हजार २ सय ५५ जना, प्रदेश २ मा ७ सय २६ जना, बागमतीमा २ हजार ६ सय ९४ जना, गण्डकीमा एक हजार ८ सय ४३ जना, लुम्बिनीमा ७ सय ३३ जना, कर्णालीमा ७ सय ५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
खोप लगाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ । खोप अभियानमा सक्रिय सहभागिता जनाउन मन्त्रालयले सबैमा आग्रह समेत गरेको छ ।
काठमाडौं उपत्यकाको त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायतमा बुधबार खोप लगाइएको छ । यी अस्पतालहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी लगायले स्थलगत अनुगमन समेत गरेका थिए ।
शुक्रराज अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारी कोरोना विरुद्धको खोप लगाउने पहिलो नेपाली व्यक्ति बनेका छन् ।
नेपालमा भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप प्रयोग गरिएको हो । अनुदानमा उपलब्ध यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । माघ ९ गते नेपाल आएको १० लाख डोज सरकारले सातै प्रदेशमार्फत सम्बन्धित जिल्लामा समेत पु¥याएको थियो ।
यसैबीच, प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट शुभारम्भ गरी सुरु गरिएको अभियान देशका ९५ केन्द्रबाट एकसाथ दिइँदै छ । बिहीबारबाट स्थानीय तहमा पालिका अस्पतालमार्फत दिइँदै छ ।
पहिलो चरणको खोप अभियान पाँच दिनभित्र सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । माघ १८ गतेसम्ममा पहिलो डोज खोप लगाइसक्ने र एक महिनापछि दोस्रो डोज दिने मन्त्रालयको योजना छ ।